गौचनको हत्याले व्यवसायी आतंकित



काठमाडौं । सोमबार मध्यदिनमा राजधानीको बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भएको छ । अज्ञात समूहले बाटो ढुकेर गोली हानी गौचनको हत्या गरेको हो ।

मोटो रकम चन्दा मागिएको र गौचनले मागेजति चन्दा नदिएका कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले सबै नाका शिल गरेर हत्याराको खोजी गरिरहेको जनाएको छ ।

तर, यसरी राजधानीमै दिनदहाडै व्यवसायीमाथि गोली हानी हत्या भएपछि सिंगो व्यवसायी जगत आतंकित भएको व्यवसायीहरुले जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतले घटनाको घोर भत्र्सना गर्दै हत्यारा पत्ता लगाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यसरी व्यवसायीको हत्या हुँदा उद्योगी/व्यवसायीहरु आतंकित भएको व्यवसायीहरुको ठहर छ ।

‘गौचन हत्या प्रकरणले सिंगो व्यावसायिक जगत आतंकित भएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले क्लिकमाण्डूसँग भने, ‘शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने यो ज्वलन्त उदाहारण हो, पछिल्ला केही वर्षमा व्यवसायीहरुमा केही उत्साह थियो । तर, यो घटनाले हामीलाई निरुत्साहित बनाएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पनि यो घटनासँगै व्यवसायीहरु आतंकति भएको बताए ।

‘राजधानीमा दिउसै यस्तो घटना घट्छ भने हामीले कसरी आफ्नो व्यवसाय विस्तार गर्ने ?’ मुरारकाले प्रश्न गरे, ‘हामी व्यवसायी मात्रै होइन, सर्वसाधारण पनि आतंकित भएका छन् । यस्तो अवस्थामा कसरी हिँडडूल गर्ने ?’


पुष्प दुलाल