नेप्सेको सीइओमा चन्द्रसिंह साउद



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त  भएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री बालुवाटारमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर साउदलाई नेप्सेको सीइओ नियुक्त गर्ने भन्दै सोही अनुसारको प्रस्ताब तयार गर्न निर्देशन दिए ।

सोमबार मन्त्रिपरिषदको बैठक थियो । देउवाले आफूले ठाडो प्रस्ताब नगर्ने तर साउदलाई नै सीइओ बनाउने प्रष्ट जानकारी अर्थमन्त्रीलाई दिइसकेका थिए ।

अर्थमन्त्री कार्कीले प्रधानमन्त्रीको निर्देशन अनुसार सोमबारको मन्त्रिपरिषदको बैठकमा प्रस्ताब पेस गर्छु भन्दै बालुवाटारबाट बाहिरिए ।

सोमबार बिहानैदेखि मन्त्रिपरिषदको बैठक बस्यो । अर्थमन्त्रीले प्रस्ताब पनि गरे । देउवाले साउदलाई बनाउनु पर्छ भने बाँकी छलफल भएन ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ जनाको नाम प्रस्ताब गरेका थिए । तर, सुदुरपश्चिमका साउदलाई प्रधानमन्त्री देउवाले सुदुरपश्चिमका साउदको मात्रै नाम लिएको एक मन्त्रीले बताए ।

तर मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय भने गरिसकेको छैन । तर, यसरी प्रधानमन्त्रीले आफ्नो मान्छे ल्याउन चाहेपछि मूख्यसचिब आफ्नो चाहाना अनुसारको व्यक्तिको नाममा माइन्यूट बनाउन निर्देशन दिन्छन् ।

यसअघि बीमा समितिको अध्यक्ष नियुक्तिमा पनि यस्तै भएको थियो ।

अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको थियो ।

मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापन पेशमा छन् ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए । यी आवेदकमध्येबाट छनोट तथा सिफारिस समितिले ५ जनाको संक्षिप्त नाम यसअघि सार्बजनिक गरेको थियो ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि नेप्सेकै निवर्तमान प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले पनि आवेदन हालेका थिए । अन्तिम ५ जनाको संक्षिप्त नामावलीमा थपलिया परे पनि अन्तिम ३ मा सिफारिस हुन सकेनन् ।


पुष्प दुलाल