निर्वाचन आयोगद्धारा मुख्य अधिकृत र अधिकृत नियुक्त



काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त हुनुभएका उक्त पदाधिकारीबाटै आफ्नो निर्वाचन क्षेत्रभित्रपर्ने दुई÷दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्रको समेत निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी दिइएको पनि प्रवक्ता ढकालले बताए ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जगेडामा रहेका अन्य नौ जना अधिकृतलाई निर्वाचन आयोगले असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा तालीम प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा १६५ जनालाई नियुक्त गरेको छ ।


क्लिकमान्डु