बाम एकतालाई सेयर बजारको लाल सलाम !



काठमाडौं । बाम एकताले कम्निष्ट कार्यकर्ताहरुलाई उत्साहित बनाइरहेका बेला पुँजी बजारका लगानीकर्ताहरु भने निरुत्साहित देखिएका छन् ।

दशैंपछि बजार खुलेको पहिलो दिन मंगलबार नेप्से ७ अंकले बढेको थियो । तर, बुधबार भने बजार खुल्नेवित्तिकै देखि सेयर बजार सूचक रातो रंगले पोतिएको छ । बजार बन्द हुँदा नेप्से सूचक १३ अंकले घछेर १५४२ अंकमा झरेको छ ।

मंगलबार साँझ नेपालका ठूला कम्निष्ट पार्टी एमाले–माओवादी(नयाँ शक्ति लगायतका बाम शक्तिहरुले एकता गरेका थिए । त्यसको भोलिपल्ट पुँजी बजार सूचक (नेप्से इन्डेक्स) ले बाम एकतालाई रातो रंगले स्वातग गरेको हो ।

यो संयोग पनि हुन सक्छ । तर, बाम एकता भएको भोलिपल्ट यसरी नेप्से घट्नुले पुँजी बजारका लगानीकर्ताले बाम एकतासँग डराएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि देखि नै राजनीतिक घटनाक्रमहरुले नेप्सेलाई प्रभावित बनाउँदै आएको छ । राजनीतिक अवस्था सकरात्म भएको सन्देश जाँदा ह्वात्तै बढ्ने र नकरात्मक भएको सन्देश जाँदा ह्वात्तै घट्ने प्रवृत्ति छ ।

तर, धेरै लगानीकर्ताहरु दशैं विदाका कारण सक्रियरुपमा सेयर कारोबारमा संलग्न हुन नसकेकाले पनि सेयर बजार घटेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

बुधबार अधिकांस उपसूचकहरु घटेका छन् । बैंकिङको साढे १७, व्यापारको ४, विकास बैंकको २२, जलविद्युतको साढे २७, फाइनान्सको ३ र बीमा समूहको उपसूचक ३५ अंकले घटेको नेप्सेले जनाएको छ ।

तर, अन्तिम समयमा आएर होटलको २८, उत्पादनमूलकको ९ र अन्य समूहको उपसूचक ६ अंकले बढेको छ । बुधबार नेप्सेमा १४४ कम्पनीका ६ लाख ६० हजार कित्ता सेयर २८ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।


पुष्प दुलाल