जान्नुहोस्, सेक्स र सेयर बजारका यी ४ चरण




म ८–९ वर्षको हुँदाको कुरा । जब भैंसीले राँगो खोज्थ्यो , भैंसीलाई राँगो भएको ठाउँमा लैजाँदा कहिलेकाहीँ दाइसँग भैंसी धपाउँदै म पनि पछिपछि जान्थेँ । सम्भोग (सेक्स) का लागि भैंसी माथि राँगो पहिलोपटक उक्लिसकेपछि केही समय राँगो भैंसीभन्दा अलि टाढै उभिन्थ्यो ।

राँगोले भैंसीको त्यति वास्ता गर्दैन थियो । तर, मलाई भैंसीमाथि राँगो तुरुन्तै पुन उक्लिए हुन्थ्यो भन्ने लाग्थ्यो । राँगो किन तुरुन्तै नउक्लेको होला ? ममा त्यो जिज्ञासा रहिरहन्थ्यो । यो कुरा मलाई पछि थाहा भयो, पुन सम्भोगका लागि आराम र शक्ति सञ्चयको आवश्यकता पर्ने रहेछ ।

सेक्स नगरेका उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ ।

जब बजार स्खलित हुन्छ, यो तुरुन्तै उक्लिन सक्दैन । तर, लगानीकर्ताको चाहाना उक्लिहाले हुन्थ्यो भन्ने हुन्छ । बजार माथि चढ्न बजारको शक्ति सञ्चय त्यतिकै आवश्यक छ । यो अवस्थालाई बजारमा शक्ति सञ्चयको चरण पनि भनिन्छ ।

बजारलाई शक्ति प्रदान गर्ने ४ वटा प्रमुख तत्वहरु हुन्छन्– आर्थिश शक्ति, औद्योगिक शक्ति, कम्पनीको शक्ति र मनोवैज्ञानिक शक्ति । जसमा आर्थिक वृद्धि, सरकारी नीति, ब्याज, उद्योगको अवस्था, कम्पनीको नाफा र लगानीकर्ताको मनोवलजस्ता कुरा गर्छन् । यी तत्वले बजारमा शक्ति प्रदान गर्छन् ।

सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् ।

जब यी शक्तमा मजबुती आउँदै जान्छ, सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जान्छ र, सेयर बजार बढ्न थाल्छ । यी तत्व जति बढी मजबूत हुन्छन्, त्यति नै चाँडो बजार बढ्छ । लामो समयसम्म बढिरहन सक्छ । यो अवस्थामा बजारले उन्मादको साँढेको रुप लिन्छ, जसलाई हामी बुलिस भन्छौं । यस्तो बेला बजार छिटो स्खलित हुनबाट रोकिन्छ ।

शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । त्यसैले भनिन्छि– अर्थतन्त्र मजबुत भए सेयर बजारमा स्थिरता आउँछ, दीर्घकालीन रुपमा बढ्छ नत्र वृद्धि अल्पकालीन हुन्छ ।

बजारको उन्माद र अप्सरा

सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । धेरै ऋषिमूनिको ध्यान अप्सराले भंग गरेका कथा हामी पढ्न पाउँछौं । बढ्दो सेयर बजारले पनि काम, क्रोध, लोभ र मोह त्यागेर हिँडेका साधु सन्तको ध्यानलाई भंग गरी सेयर बजार र यसबाट हुने लाभतर्फ आकर्षित गर्छ ।

सम्भोग र बजारको उत्तेजना

सम्भोगमा स्खलित हुनुअघि व्यापक उत्तेजना आउँछ, जतिबेला पुरुषले सबै कुरा विर्सिएको हुन्छ । त्यस्तै खालको उत्तेजना सेयर बजारले पनि प्रस्तुत गर्छ । र, यो अवस्थामा लगानीकर्ताले सबै कुरा विर्सेका हुन्छन् । बुलिस बजार जब आफ्नो उत्तरतर्फको यात्रालाई बिट मार्ने विन्दूको नजिक पुग्दै जान्छ, बजार अरु समयमा भन्दा बढी उत्तेजित हुन्छ ।

आफ्नो गतिलाई तीब्र पार्दै जान्छ । यो समयमा बजार अन्य समयभन्दा बढ्दो दरमा बढेको हुन्छ । यो अवस्थामा बजार अस्वभाविकरुपमा प्रस्तुत हुन्छ । त्यतिबेला बजारसम्बन्धी नकरात्मक सूचना र समाचार पनि निष्प्रभावी बन्न पुग्छन् ।

पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।

नेप्सेका तथ्यांक हेर्ने हो भने जब नेप्से उचाइमा पुग्दै गरेको हुन्छ, त्यहाँ तीब्र वृद्धि देखिन्छ । २०६५ भदौ १५ मा नेप्से ११७५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा नेप्से २३७ अंकले बढेको थियो ।

यस्तै, २०७२ भदौ ३० गते नेप्से १२०५ अंकको उचाइमा पुग्नु २ महिनाअघि २५५ अंकले बढेको थियो । यस्तै व्यवहार २०५७ सालमा पनि नेप्सेले देखाएको थियो । ०५७ मंसिरमा नेप्से ५४५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा १४० अंकले बढेको थियो । यी तीनै समयमा नेप्सेको २ महिनाको उत्तेजनाको अवस्था उस्तै छ । ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो ।

सम्भोग र बजार प्रबेश

सेक्स नगरेका उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । अरुले कमाएका कथाएका कथाहरु सुन्दा बजारमा तुरुन्तै हाम फालिहालूँजस्तो जोश, कताकता डर, कताकता लोभ ।

स्ट्यान्डफोर्ड विश्वविद्यालयका नसा विज्ञान तथा मनो विज्ञान विषेशज्ञ प्राध्यापक ब्रेन कुत्सनले आफ्नो अनुसन्धानमा पत्ता लगाएका छन्– ‘पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।’

सम्भोग र सेयरका चरण

बिलियन एच मास्टर्स र भर्जिनिया इ जोन्सनले सन् १९६६ मा ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ नामक पुष्तकमा पहिलोपटक सम्भोगका ४ चरणबारे उल्लेख गरेका छन् । जसमा उत्तेजना, प्लाटो, चरम सुख र पूर्वावस्ता पर्छन् ।

सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था पनि हो । यो अवस्थालाई निरन्तरता दिए हामी दोस्रो चरणमा प्रवेश गर्छौं, जसमा अंगहरुको उत्तेजना अझ बढेर जान्छ ।

दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । त्यसपछि पुर्वावस्थामा फर्किने चरणलाई रेजोलुसन भन्ने गरिन्छ, जसमा व्यक्ति सामान्य अवस्थामा फर्किन्छ ।

सेयर बजार पनि बुलिस र बियरिसको एक पूरा चक्रमा यस्तै ४ वटा चरणबाट गुज्रिन्छ । जसलाई शक्ति सञ्चय, बढ्दो चरण, वितरणको चरण र घट्दो चरण भनिन्छ । सेयर विश्लेषक भट्टराईको ‘सेयरबाट करोडपति’ पुस्तकबाट


पुष्प दुलाल