एक किसान जसले दश बिगाहामा केराखेती गरेर ७ जनालार्इ रोजगारी दिए



दाङ । यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् ।

तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गरेका हुन् । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिए ।

लम्सालले हाल सात बिगाहा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराको बिरुवा लगाएका छन् र अन्य तीन बिगाहामा केरा लगाउने तयारी गर्दैछन् । उनले अहिलेसम्म ४९ लाख रुपैयाँ लगानी गरीसकेका छन् ।

दाङमा केराखेतीका लागि अनुकूल मौसम छ र यहाँ एक बिगाहामा ३० टन केरा उत्पादन हुने गर्छ । उनले सातजनालाई रोजगारी दिएका छन् ।

‘जागिर खानु र विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही नमूनायोग्य काम गर्ने उद्देश्यले केराखेती शुरु गरेको छु, अबको एक वर्षमा यसबाट  राम्रो आम्दानी दिनेछ भन्ने आशा छ,’ लम्सालले भने ।

दाङमा व्यावसायिक केराखेती नहुँदा अन्य जिल्लाबाट केरा आयात हुने गरेको छ । लम्सालका अनुसार दाङलाई केराखेतीमा आत्मनिर्भर बनाउन सकिन्छ । उनले पाँच बिगाहा जमिनमा थोपा सिँचाइबाट र पाँच बिगाहा जमिनमा परम्परागत सिँचाइ हुने व्यवस्था मिलाएका छन् ।

राम्रोसँग केरा फलेमा एककट्ठा जमिनबाट वार्षिक १० हजार रुपैयाँसम्म आम्दानी लिन सकिने उनले बताए।

लम्सालले टिस्यूकल्चरबाट उत्पादित केराको बेर्ना १० बिगाहा जमिनमा लगाउने र बाँकी बाहिर बिक्री गर्ने योजना रहेको समेत बताए।

दाङमा ४०० हेक्टर जमिनमा केराखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बागवानी विकास अधिकृत धनराज गौतमका अनुसार १५ प्रतिशत केरा दाङमा उत्पादन हुने र  अन्य बाहिरी जिल्लाबाट आयात गरी पूर्ति गर्ने गरिएको छ ।


क्लिकमान्डु