अब सजिलै मुक्तिनाथ दर्शन गर्न पाइने, पिच भयाे कागबेनी-मुक्तिनाथ सडक



मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ ।

मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

दुई वर्षअघि देखि शुरु भएको कालोपत्रको काम दशैँअगाडि सम्पन्न भएको हो । १२ किमी लामो सडक कालोपत्र गरिएसँगै प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज भएको छ ।

जिल्लामा झण्डै २५० किमी सडक सञ्जाल भए पनि हालसम्म कुनै पनि सडकखण्डमा कालोपत्र भएको छैन । कालोपत्र गर्नका लागि दुई महिनादेखि रोकिएको यातायात सुविधा काम सकिएसँगै नियमित सञ्चालनमा आएको मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए । साँघुरो सडक, मौसमको प्रतिकूलता र उच्च भेगमा भएका कारण कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोड रुपैयाँको लागतमा कालोपत्र गरिएको तिवारीले बताए ।

जिल्ला समन्वय समिति र डोलिडारको संयुक्त लगानीमा कालोपत्र भएको सडकलाई सदरमुकाम जोमसोमसम्म नै कालोपत्र गर्ने तयारी शुरु भएको छ । जिल्लाको सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकखण्डसमेत हालसम्म कालोपत्र भएको छैन । सडकखण्ड कालोपत्र नहुँदा सडक मार्ग हुँदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन् ।


क्लिकमान्डु