नेपालको जिडिपीमा देखिने काम गर्छौ: पाइरे फरारी, सिईओ, हेफर इन्टरनेशनल



काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पाईरे फरारीले नेपालमा संस्थाले हासिल गरेको उपलब्धी विश्वभरका लागि प्रशिक्षण केन्द्रको रुपमा विकास भएको बताए ।

‘पशु पंक्षीहरुलाई सन्तुलित आहार व्यवस्थापन हुन नसक्दा किसानहरुले अपेक्षित फाइदा लिन नसकिरहेको सन्दर्भमा हेफरले किसानलाई प्रविधि विकास गरेर हस्तान्तरण गर्न सफल भएका छौं ।’ हेफरका प्रमुख कार्यकारी अधिृकत फरारीले भने, ‘नेपालका ११ हजार परिवार गरिब किसानले यसबाट लाभ लिन सफल भएका छन् ।’

आगामी केही वर्षमा नेपालको कूल ग्राहस्थ उत्पादनमै देखिने गरी हेफर नेपालले प्रगति गर्ने दावी सिईओ फरारीले गरेका छन् ।

‘हामी अर्को चरणमा प्रवेश गर्दैछौं, आगामी ३ देखि ५ वर्षभित्रमा नेपालको मासु आयातमा यसले नतिजा देखाउनेमा म विश्वस्त छु,’ फरारीले भने ।

अमेरिका मुख्यालय रहेको हेफर इन्टरनेशनल नेपालमा स्थापनाकालदेखि नै पूर्ण रुपमा नेपालीहरुको नेतृत्वमा सञ्चालित रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका बरिष्ठ कार्यक्रम उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले किसानलाई व्यवसायिक हुन संस्थाले भूमिका खेलेको उल्लेख गर्दै यसअघि हचुवाको भरमा बिक्री हुने पशुपंक्षि संस्थाले चलाएको अभियानपछि जोखेर बिक्री गर्ने पद्धतिको विकास भएको र यसबाट किसानले सही मूल्य पाउन सहज भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर शुभ महतोले संस्थाले नेपालको ४१ जिल्लाका करिब दुई लाख ५० हजार जनाले लाभ लिएको बताउँदै आर्थिक विकास, समुन्नत जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामा उल्लेखनीय काम गरेको जानकारी दिए ।

डाइरेक्टर महतोले संस्थामा दुई सय ९ वटा सहकारी आबद्ध भएर काम गरिरहेको जानकारी दिँदै यस पटकको दशैंमा हेफरमा आबद्ध भएका किसानबाट उत्पादित करिब २५ हजार खसी बजार बिक्रीको लागि गएको जानकारी समेत दिए ।

हेफरले सन् १९९३ मा चितवनको गितानगरमा बरुवा बाख्रापालन परियोजना सुरु गरेर नेपालमा कार्य शुरु गरेकोमा बाख्रापालन अहिले १५ पुस्तामा पुगेको बताईएको छ ।


क्लिकमान्डु