१२ वर्षदेखि मलेसियामा बेपत्ता कृष्णप्रसादका परिवारको व्यथाः ‘दशैंमा आउँछु भन्थ्यो आएन’



मलेखु । नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ ।

सिद्धलेक गाउँपालिका-६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु वर्षमा जस्तै बाटो हेरेर बित्ने भएको छ ।

‘छोरा घर आउला र छिमेकीको घरमा जस्तै रमाइलो गरुँला’ भन्ने उनको आशा निराशामा परिणत भएको छ ।

सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका-२ की अस्मिता पौडेल ‘घर आउँछु’ भन्ने छोराको यादमै बित्ने पक्का भएको छ । चार वर्षअघि कुवेत गएका उनका छोरा सम्पर्कमा छैनन् ।

दशैँमा आउँछु भनेर फोन गरे पनि केही वर्षदेखि उनी कता हराए भन्ने कसैलाई थाहा छैन । साथीभाइले पनि पत्ता लगाउन सकेका छैनन् ।

आर्थिक अवस्था सुधार गर्नका लागि विदेशिएका व्यक्ति धमाधम बेपत्ता हुनु र चाडबाडमा समेत सम्पर्कमा नआउँदा घरमा रहेका परिवार आत्तिने गरेको मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताए ।

वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले जाने लगायतको सूचना तथा परामर्श उपलब्ध गराउँदै आएको सिर्ड्स धादिङले विदेश जाँदा अपनाउनुपर्ने विषय र अन्य सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउँदै आए पनि विदेश गएर बेपत्ता भएकाको संख्या कम छैन ।

सिड्र्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले विदेश गएर बेपत्ता भएकाको खोजी गरिदिनका लागि निवेदन दिनेको संख्या धादिङ जिल्लामा ४५ जना रहेको जानकारी दिए ।

धादिङबाट विदेश गएकामध्ये मलेसियामा २५, कतारमा तीन, साउदी अरब र युएइमा चार चार, भारत र कुवेतमा तीन तीन, जर्जियामा दुई र इराकमा एक जना बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ ।

जिल्लाको उत्तरी भागबाट बढी मानिस विदेशमा बेपत्ता छन् । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाँक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत क्षेत्रबाट धेरै मानिस हराएको सूचना प्राप्त भएको छ ।

बेपत्ता हुनेको हकमा खोजी गर्नका लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहुँदा विदेशमा बेपत्ता भएकालाई खोजी गर्न अप्ठ्यारो परिरहेको छ ।

यद्यपि सूचना तथा परामर्श केन्द्रले विभिन्न छापा र अनलाइनमार्फत सूचना सार्वजनिक गरेर खोजी गरिरहेको छ । यही कारण यस वर्ष ४५ बेपत्तामध्ये १४ जना सम्पर्कमा आएको सुवेदीले जानकारी दिए ।


पुष्प दुलाल