एचआइडिसिएलले ३० अर्बको ऊर्जा ऋणपत्र ल्याउने, ५ प्रतिशत व्याज



काठमाडौं । तपाईसँग पैसा छ । लगानीका अवसर खोजिरहनु भएको छ वा लगानी गर्ने ठाँऊ नपाएर चिन्तित हुनुहुन्छ भने अब तपाईका चिन्ताका दिन सकिएका छन् ।

आर्कषक व्याजदर सहित सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी(एचआईडिसिएल) ले ५ प्रतिशत व्याजदरसहित जलविद्युत्मा लगानीका लागि सार्वजनिक आह्वान गर्न लागेको छ ।

स्वदेशी पूँजीबाटै आर्कषक जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ कम्पनीले उक्त व्याजदर प्रस्ताव गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जलविद्युत् क्षेत्रमा गरिने लगानी समेत आर्कषक छ र उचित मुनापाm दिन सक्छ भन्ने स्थापित गर्ने लक्ष्यका साथ लगानीका लागि आह्वान गर्न लागिएको जानकारी दिए ।

उनले नागरिकको तहबाट रु ३० अर्ब रकम जुटाउने तयारीमा कम्पनी रहेको क्लिकमाण्डुलाई जानकारी दिए । उनले त्यसरी उठाउन लागेको रकमलाई ऊर्जा ऋणपत्रको नाम दिएका छन् ।

बैंक तथा वित्तीय संस्था, बीमा, संगठित संस्था र सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने योजनामा कम्पनी रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ ।

त्यस्तो ऋणपत्रको अवधि ५ वर्षको हुने र ५ प्रतिशत व्याजदर हुनेछ । कम्पनीको सञ्चालक समितिमा सो प्रस्तावमाथि छलफल भइरहेको छ । कम्पनीको अध्यक्षमा ऊर्जा सचिव रहने प्रावधान छ ।

सञ्चालक समितिले उक्त प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डसँग छलफल गरेर अन्तिम निष्कर्ष निकालिने उनको भनाइ छ ।

स्थापनाको ७ वर्षको अवधिमा कम्पनीले ५४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रकम सहवित्तियकरण मार्फत लगानी गरेको छ ।


क्लिकमान्डु