चीनतर्फ थप ९ नाका खोल्ने विषयमा काठमाडौँमा महत्वपूर्ण वार्ता हुँदै



काठमाडौं । सम्बन्ध विस्तारको सूचकको रुमपा सडक तथा यातायातलाई लिने गरिन्छ ।

भारतर्फको यातायात जति सहज र सरल छ, त्यत्ति नै सहज उत्तरतर्फ छैन । उत्तरतर्फ सञ्चालनमा रहेको कोदारी राजमार्ग भूकम्प र अन्य प्राकृतिक विपत्तिको जोखिममा परेपछि विगत दुई वर्षदेखि बन्दप्राय अवस्थामा रहेको छ ।

सञ्चालनमा रहेको रसुवा केरुङ राजमार्ग पनि असाध्यै साँघुरो भएका कारण सोचेजति सफलता हासिल गर्न सकिएको छैन ।

ओलाङचुङगोलाबाट पनि परम्परागत आवत जावत मात्रै गर्न सकिन्छ । मुस्ताङको कोरला नाका अनौपचारिक रुपमा मात्रै सञ्चालनमा छ । किनकी भौतिक संरचना तथा अन्य प्राविधिक कारण सञ्चालनमा ल्याउन कठिनाइ रहेको छ ।

नेपाल र चीनबीच करिब एक दर्जन स्थानमा नयाँ नाका खोल्ने तथा व्यापार तथा सम्बन्ध विस्तारका विषयमा अनेकन पटक छलफल भएका छन् । नेपालले चीनले अगाडि सारेको ओबिओर परियोजनामा हस्ताक्षर गरिसकेको छ ।

सञ्चालनमा रहेका नाकाहरुको सुधार तथा व्यवस्थापन र नयाँ नाका खोल्ने विषयमा द्विपक्षीय छलफल गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज साँझ काठमाडौं आइपुग्ने भएको छ ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले नाका सञ्चालन तथा व्यवस्थापन र नयाँ नाका सञ्चालनको विषयमा उच्च सरकारी अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

चीन सरकारले ओविओर परियोजनामा रसुवा– केरुङ– काठमाडौ रेलमार्गलाई राखेको छ भने काठमाडौँ, लुम्बिनी– पोखरा रेलमार्ग समेत सोही परियोजानमा रहेको छ । सो परियोजनाको विस्तृत अध्ययनको काम सुरु गर्ने तयारी समेत भइरहेको छ । चिन सरकारले नेपालको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग गरिराखेको सन्दर्भमा उच्चस्तरीय प्रतिनिधिमण्डलको आजदेखि हुन लागेको भ्रमणले थप नयाँ काम गर्ने विश्वास लिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विरबहादुर बलायरले उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज साँझ काठमाडौँ आइपुग्ने र बन्द रहेको तातोपानी नाका खुलाउनेलगायत पहिलो चरणमा अन्य नौ स्थानमा नाका खुलाउने विषयमा छलफल हुने जानकारी दिए ।

छलफल बुधबार हुने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

केही समय पहिले नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणको समयमा समेत नयाँ नाका खोल्ने र सञ्चालनमा रहेकाको विस्तार तथा विविधकरण गर्ने विषयमा प्रतिवद्धता जनाएका थिए ।

चीन भ्रमणमा गएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई पनि चिनियाँ प्रधानमन्त्री, विदेशमन्त्रीलगायत उच्च चिनियाँ अधिकारीले सहयोगका विविध क्षेत्रलाई थप फराकिलो बनाउने बताएका थिए ।

चीन भ्रमणबाट फर्केपछि उत्साहित हुँदै मन्त्री महराले भौतिक पूर्वाधारको विकासका लागि चीन सरकारसँग महतवपूर्ण छलफल भएको बताएका थिए ।


क्लिकमान्डु