राष्ट्र बैंकमा सेवा अबधि विबाद: लोकसेवा भन्छ- एउटै ढुकुटीबाट तलब खानेको सेवा अबधि फरक हुँदैन




काठमाडौं । नेपाल राष्ट्र बैंकमा सेवा अवधिलाई लिएर विबाद भइरहेको समयमा लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयले सेवा अबधि एकै हुनुपर्ने तर्क गरेका छन् ।

राष्ट्र बैंकका नयाँ कर्मचारीले सेवा अबधि ३० बर्ष र उमेर हद ५८ बर्षलाई नै निरन्तरता दिनुपर्ने अडान लिइरहेका छन् । तर, राष्ट्र बैंककै पुराना कर्मचारी भने सेवा अबधि ३० बर्ष हटाएर उमेर हद ५८ बर्ष मात्रै कायम गरिनु पर्ने दाबी गरिरहेका छन् ।

लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीबिलास कोइरालाले राष्ट्र बैंकमा के कस्तो नियम र ब्यवस्था लागू गर्नुपर्छ भन्ने बिषय आफ्नो नभएपनि नेपाल सरकारको एउटै ढुकुटीबाट तलब भत्ता खाने कर्मचारीको हकमा एउटै नियम लाग्नु पर्ने बताए ।

‘सरकारको ढुकुटीबाट तलबभत्ता खाने सबै कर्मचारीले जनतालाई सेवा प्रबाह नै गर्ने हो, काम एउटै हो, जंगी र प्रहरीमा बलियो शरिर चाहिन्छ भन्ने मान्ने हो भने बेग्लै कुरा होला, अन्य क्षेत्रमा शीप, ज्ञान र अनुभवका आधारमा अझ राम्रो काम गर्न सक्ने कर्मचारीलाई सेवा अवधि वा उमेर हदका आधारमा विभेद गर्नु भएन, यसो भयो भने अमानबीय ब्यवहार हुन्छ,’ प्रवक्ता कोइरालाले क्लिकमाण्डूसँग भने ।

सामान्य प्रशासन मन्त्रालयका सुचना अधिकारी नमराज घिमिरे पनि सवै क्षेत्रका कर्मचारीको सेवा अवधि एउटै हुनुपर्ने बताउँछन् । सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको सेवा अवधि वा उमेर हद सम्बन्धि ब्यवस्था गर्ने भएपनि सैद्धान्तिम रुपमा सबै क्षेत्रमा एउटै नियम लाग्नुपर्ने उनको भनाइ छ ।

नेपाल सरकारको ढुकुटीबाट तलबभत्ता खाने सबै कर्मचारीको सेवा अबधि एउटै हुनुपर्छ भन्ने सामान्य प्रशासन मन्त्रालयको अडान छ

‘सामान्यले हेर्ने भनेको निजामति कर्मचारीको सेवा अबधि वा उमेर हद सम्बन्धि ब्यवस्था हो, तर, नेपाल सरकारको ढुकुटीबाट तलबभत्ता खाने सबै कर्मचारीको सेवा अबधि एउटै हुनुपर्छ भन्ने सामान्य प्रशासन मन्त्रालयको अडान छ,’ सुचना अधिकारी घिमिरेले क्लिकमाण्डूसँग भने ।

अहिले निजामति कर्मचारीको सेवा अवधि हटाइ सकिएको छ । अब निजामतिको उमेर हद ६० बर्ष बनाउन लागिएको छ । नेपालीको औषत आयु नै बढेको कारण उमेर हद बढाउनु आवश्यक रहेको प्रवक्ता कोइराला बताउँछन् ।

सरकारले २०३४/३५ सालतिर निजामति कर्मचारीको उमेर हद ६३ बर्ष तोकेको थियो । सो समयमा नेपालीको औषत आयू ५७ बर्ष थियो । अहिले नेपालीको औषत आयू बढेर ७३ बर्ष पुगेको छ भने निजामति कर्मचारीको जागिर खाने उमेर हद ५८ बर्ष तोकिएको छ ।

सरकारी ढुकुटीबाट तलब भत्ता खाने कर्मचारीहरुको उमेर हद फरक फरक रहेको छ । संसद सेवाका कर्मचारीले ६० बर्षको उमेरसम्म जागिर खान पाउछन् भने स्वास्थ्य र शिक्षक सेवाका कर्मचारीले पनि ६० बर्षको उमेरसम्म नै जागिर खान पाउँछन् । यस्तै विश्वविद्यालयका प्राध्यापकहरुले ६३ बर्षको उमेरसम्म जागिर खान पाउँछन् ।

तर, नेपाल राष्ट्र बैंकमा भने काम गरेको अबधि ३० बर्ष वा उमेर ५८ बर्ष भएपछि जागिर खान पाउँदैनन् । यी दुई ब्यवस्थामध्ये जुन अगाडि आउँछ, त्यसैको आधारमा जागिर छोडेर बाहिरिनु पर्छ ।

यस्तै सार्क क्षेत्रमा पनि निजामति कर्मचारीले जागिर खाने अबधि ६० बर्ष उमेरभन्दा कम नभएको कोइरालाले बताए ।

‘सार्क क्षेत्रमा उमेर हद ६० बर्षभन्दा कम कही छैन, भारतमा अहिले ६० बर्ष उमेर हद छ र यसलाई बढाएर ६३ बर्ष गरिन लागेको छ, चीनमा पनि उमेर हद ६० बर्ष नै तोकिएको छ र यसलाई बढाएर ६५ बर्ष बनाउन लागिएको छ, अमेरिकामा ६३ बर्षको उमेर हद छ, यसकारण अहिले निजामति सेवामा रहेको ५८ बर्ष उमेर हदलाई पनि बढाएर कम्तिमा ६० बर्ष गर्नु उपयुक्त हुन्छ,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

लोकसेवा र सामान्य प्रशासन मन्त्रालयले निजामति सेवाको अबधि उमेर हदका अाधारमा ५८ बर्षबाट बढाएर ६० बर्ष पुर्याउनु पर्ने बताइरहेको समयमा राष्ट्र बैंकमा भने सेवा अबधि ३० बर्षलाई नै निरन्तरता दिनु पर्छ भन्दै केही कर्मचारी लविङमा लागेका छन् ।


क्लिकमान्डु