जनरल अब बेस्ट फाइनान्स, तत्काल ५ ठाउँमा शाखा खोल्ने




काठमाडौं । जनरल फाइनान्सले आफ्नो नाम र लोगो परिवर्तन गर्ने भएको छ । फाइनान्सले आफ्नो नाम परिवर्तन गरी बेस्ट फाइनान्स कम्पनी बनाउन लागेको कम्पनीका अध्यक्ष पदम न्यौपानेले जानकारी दिए ।

सो फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । कम्पनीमा नयाँ लगानीकर्ता भित्रिएपछि गत पुसदेखि कम्पनी नयाँ स्वरुपमा जान लागेको हो ।

‘कम्पनीको नाम र लोगो परिवर्तन गरी आक्रामक बजार विस्तारको योजनामा छौं, लामो इतिहास बोकेको कम्पनीलाई पुन ससक्त कम्पनीको रुपमा विकास गरेर नेपालकै राम्रो र उत्कृष्ट फाइनान्स कम्पनी बनाउने गरी काम गरिरहेको छौं,’ अध्यक्ष न्यौपानेले क्लिकमाण्डूसँग भने ।

कम्पनी अब थप ५ नयाँ शाखा स्थापनाको तयारीमा रहेको छ । तोकिए अनुसारको चुक्ता पुँजी पुगेपछि कम्तिमा पनि २० शाखा स्थापना गर्ने र केही गाउपालिका, नगरपालिका तथा जिल्लाहरुमा शाखा खोलेर नमुना कारोबार सुरु गर्ने योजना फाइनान्स संचालक समितिको छ ।

राष्ट्र बैंकबाट कारोबार फुकुवा भएपछि कम्पनीले खराब कर्जा असुलीलाई विशेष प्राथमिकतामा राखेको छ । समयमै कर्जा नतिरेका ऋणीको बर्गिकरण गरी नियतबस नतिरेका ऋणप्रति कडा ब्यवहारका साथै कानुनी प्रक्रिया र आफ्नो ब्यवसाय नै समस्यामा परेका ऋणीप्रति बेग्लै प्रकारको रणनीति अख्तियार गरेर कर्जा असुलीमा लागिएकोले कुनै पनि खराब कर्जा अब बाँकी नरहने अध्यक्ष न्यौपानेले बताए ।

अहिले कम्पनीको १३ करोड रुपैयाँ चुक्ता पुँजी छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार राष्ट्रियस्तरको फाइनान्स कम्पनीको चुक्ता पुँजी कम्तिमा पनि ८० करोड रुपैयाँ हुनै पर्छ । समस्याग्रस्तबाट गत पुसमा मुक्त भएको सो कम्पनीलाई तोकिए अनुसारको चुक्ता पुँजी कायम गराउन २०७६ असार मसान्तसम्मको म्याद दिइएको छ ।

दिइएको म्यादभित्र चुक्ता पुँजी पुर्याउन दुई चरणमा अग्राधिकार सेयर निस्कासनको तयारी भएको अध्यक्ष न्यौपानेले बताए । पहिलो चरण अन्तरगत कम्पनीले अहिले १ बराबर १.२५ कित्ताका दरले अग्राधिकार सेयर निस्कासन गरिरहेको छ । सो हकप्रद निस्कासन पछि कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले भदौ २७ गतेदेखि अग्राधिकार सेयर निस्कासन गरिरहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुगेपछि फेरि अग्राधिकार सेयर जारी गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ । त्यसपछि कम्पनीले १ बराबर १.७५ कित्ताको दरले अग्राधिकार सेयर जारी गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । यसो हुँदा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी बराबर नै हो ।

कम्पनी अब थप ५ नयाँ शाखा स्थापनाको तयारीमा रहेको छ । तोकिए अनुसारको चुक्ता पुँजी पुगेपछि कम्तिमा पनि २० शाखा स्थापना गर्ने र केही गाउपालिका, नगरपालिका तथा जिल्लाहरुमा शाखा खोलेर नमुना कारोबार सुरु गर्ने योजना फाइनान्स संचालक समितिको छ ।

सो कम्पनीमा हालै संलग्न भएका लगानीकर्तामध्ये केही लगानीकर्ता गैरआवाशीय नेपाली छन् । अहिले गैरआवाशीय नेपालीहरुको संस्था गैर आवाशीय नेपाली संघको ८औं विश्व सम्मेलन असोज अन्तिम साता काठमाडौंमा हुदैछ । कम्पनीले दशै तिहार तथा संघको सम्मेलनलाई मध्यनजर गरेर आफ्नो नाम र लोगो परिवर्तन गर्न लागेको बताइएको छ ।


क्लिकमान्डु