जापानले १७ खर्ब रुपैयाँ ऋण दिने भएपछि भारतले पहिलो पटक बुलेट ट्रेन कुदाउने



अहमदाबाद । भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा जापानको सहयोगमा दु्रत गतिको रेल सेवा सञ्चालन हुने भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ ।

‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बाइसम्म चल्ने बताइएको छ ।

५ सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो ।
५० वर्षको लागि जापानले ०.१ प्रतिशत ब्याजदरमा भारतलाई ऋण दिन लागेको हो ।

यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो ।

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन् । उनीबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । भारतमा द्रुतगतीमा चल्ने रेलसेवा रहेको छैन । रासस/एपी


क्लिकमान्डु