हिमालयन बैंकको परिमार्जित इ कमर्स पेमेन्ट गेटवे सेवा सुरु
काठमाडौं । हिमालयन बैंकले विद्युतीय भुक्तानी प्रणाली ‘एचबीएल ई कमर्स पेमेन्ट गेटवे’को नयाँ संस्करण सुरु गरेको छ । स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत वस्तु तथा सेवाको खरीद बिक्री डेविट वा क्रेडिट कार्ड प्रयोग गरी गर्न सक्नेछन् ।
बैंकले सन् २०१५ को जनवरी देखिनै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षितगरी नेपाली व्यापारीहरु माझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ । यसै सन्र्दभमा नेपाल सरकारलाई सन् २०१५ को भूकम्प पश्चात प्रधानमन्त्री भूकम्प सहायता कोषमा विभिन्न देशहरुवाट उपलब्ध सहयता रकम बैंकको ई कमर्स सेवा मार्फत संकलन भएको थियो । उक्त समय करीब ९३ हजार ५०० अमेरिकी डलर एचबीएल ई कमर्सको माध्यमद्वारा संकलन भएको थियो ।
बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक ‘टुसीटुपी’ थाइल्यान्डसँगको सहकार्यमा शुरु गरेको हो । बैंकले हालै शुरु गरेको ई कमर्सको यस संस्करण अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरि विकास गरिएको हो ।
ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्ताराष्ट्रिय वजारमा विक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्नेछ ।
बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ ।