गत बर्षभन्दा आधा घट्यो अनार, स्याउ र केराको मूल्य



काठमाडौं । यो वर्ष दशै आउन १९ दिन मात्र बाँकी रहदा कालिमाटी तरकारी बजारको फलफूल पसलहरुमा फलफूलको मूल्य घटेको छ । दशैको बेला धेरै जसो खरिद विक्री हुने गरेको केरा, स्याउ र अनारको मूल्य घटेको हो ।

यो वर्ष फलफूलको मूल्यमा अघिल्लो वर्षभन्दा आधा नै घटेको कालिमाटी तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल बताउँछन् ।

कालिमाटीमा करिब ५ हजार ५ सय तरकारी तथा फलफूल पसलहरु रहेको छन् । तरकारी बजारमा धादिङ, काभ्रे तथा मकवानपुर जस्ता विभिन्न स्थानबाट तरकारी तथा फलफूल आउने गर्छन् ।

पोहोर २०७३ भदौ २२ र यो वर्षको भदौ २२ गतेकै फलफूलको मूल्य तुलना गर्दा बजार भाउ घटेको देखिएको हो । यसरी तुलना गर्दा केरा, स्याउ र अनारमा सबैभन्दा बढी मूल्य घटेको देखिएको छ । २०७३ भदौ २२ गतेको तरकारीको मूल्य सूचीमा केराको मूल्य प्रतिदर्जन १ सय २५ रुपैयाँ रहेको थियो । यसबर्षको भदौ २२ गते केराको मूल्य प्रतिदर्जन ६५ रुपैयाँमा पुगेको छ ।

यस्तै स्याउ अघिल्लो वर्ष प्रतिकेजी १ सय २५ रुपैयाँ रहेको थियो भने यो वर्ष १ सय १५ रुपैयाँ पुगेको छ । अनार अघिल्लो वर्ष प्रतिकेजी २ सय २५ रुपैयाँ रहेको थियो भने यो वर्ष १ सय ४५ रुपैयाँमा पुगेको छ । यस्तै भुइकटर र मौसमको मूल्य भने पहिलेको वर्ष र यो वर्षमा कुनै परिवर्तन आएको छैन । पोहोर भुइकटरको मूल्य प्रतिगोटा १ सय ७ रुपैयाँ रहेको थियो भजे मौसमको मूल्य प्रतिकेजी १ सय २५ रुपैयाँ रहेको थियो ।

उता खरबुजा र नासपातीको मूल्यमा भने केही वृद्धी भएको देखिएको छ । खरबुजाको मूल्य अघिल्लो वर्ष प्रतिकेजी ५३ रुपैयाँ रहेको थियो भने यो वर्ष खरबुजाको मूल्यमा १२ रुपैयाँ बढेको छ । यो वर्ष खरबुजाको मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसै समयमा नासपाती प्रतिकेजी ७३ रुपैयाँ रहेको थियो । यो वर्ष दशै आउन १९ दिन बाँकी रहदा नासपातीको मूल्य प्रति केजी ७५ रुपैयाँ पुगेको कालिमाटीका विक्रेताले बताए ।


क्लिकमान्डु