दरबारमार्गमा छापा हान्दा आपूर्ति र राजस्व अनुसन्धानबीच खटपट




काठमाडौं । दरबारमार्गका ब्राण्डेड शपका ब्यापारीले बढी नाफा खाएको विषयले दुई सरकारी निकायबीच खटपट पैदा भएको छ । ती पसलहरुमा छापा मार्न आपूर्ति ब्यवस्थापन विभागले राजस्व अनुसन्धान विभागलाई बोलाएपछि खटपट उत्पन्न भएको हो ।

दरबारमार्गका पसलमा छापा मार्न जानको लागि कर्मचारी पठाइ दिनुभन्दै आपूर्ति ब्यवस्थापन विभागबाट पत्र आएको राजस्व अनुसन्धान विभागका सुचना अधिकारी देबीप्रसाद थपलियाले जानकारी दिए । तर, आपूर्ति ब्यवस्थापन विभागले सोझै बोलाउँदा आफूहरु जान नमिल्ने भन्दै नगएको उनको भनाइ छ ।

‘आपूर्ति ब्यवस्थापन विभागले छापा मार्न जानको लागि ४/५ जना कर्मचारी पठाइ दिनु पर्यो भनेर पत्र पठाएको थियो, आपूर्ति ब्यवस्थापन विभागले बोलाएर हाम्रा कर्मचारी जान मिल्दैन, संयुक्त अनुगमनमा जाने हो भने त्यसको प्रक्रिया बेग्लै छ, हामीलाई अर्थमन्त्रालयले जानु पर्यो भन्यो भने जान्छौं, नभए हामी आफ्नै प्रक्रिया अनुसार अनुसन्धान गर्ने हो,’ थपलियाले क्लिकमाण्डूसँग भने ।

ती पसलहरुमा सस्तोमा किनेको सामान बढी नाफा खाएर बेचेको भन्दै आपूर्ति ब्यवस्थापन विभागले अनुसन्धान गरिरहेको छ । तर, ती पसलहरुमा राजस्व छली भएको शंकामा राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागले पनि छानविन गर्ने अर्थमन्त्रालयका अधिकारीहरु बताउँन थालेका छन् ।

बजार अनुगमन गर्ने जिम्मेवारी आपूर्ति ब्यवस्थापनको विभागको हो । यो विभागले उपभोग्य बस्तुको गुणस्तर, मूल्यसुची लगायतका विषय अनुगमन गर्ने गर्छ ।

यस्तै राजस्व छलीको बिषयमा अनुसन्धान गर्ने अधिकार राजस्व अनुसन्धान विभागलाई छ ।


क्लिकमान्डु