उपमेयरसहित १४ वडा अध्यक्षले गरे काठमाडौं महानगरपालिकाकोे बोर्ड बैठक बहिस्कार



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ महिनापछि बुधबार बोर्ड बैठक बोलाए । मंगलबार साँझ उपमेयर र सबै वडाध्यक्षहरुलाई बुधबार बिहानको बोर्ड बैठकको जानकारी गराइयो ।

बुधबार बिहान १० बजेतिर मेयर, उपमेयर र वडाध्यक्षहरु बैठक कक्षमा पुगे । ८ बजे बोलाइएको बैठक बैठक सुरु भयो । बैठक सुरु हुनासाथ उपमेयरसहित कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मेयरले एकलौटी गरेको भन्दै बोर्ड बैठक बहिस्कार गरे ।

‘हामीले यसअघि नै पटकपटक जे विषयमा मेयरको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै आएका थियौं, मेयरँले आगामी बैठकमा हामीले उठाएको विषयको सम्बोधन गर्नु भन्नु भएको थियो,’ उपमेयर हरिप्रभा खड्कीले क्लिकमाण्डूसँग भनिन्, ‘तर कार्यान्वयन गर्नुभएन, त्यसैले हामीले बैठक बहिस्कार गरेका हौं ।’

कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले बैठक बहिस्कार गरेपछि बुधबारको बोर्ड बैठक स्थगति गरेर बिहीबार बिहानका लागि बोलाइएको छ ।

उपमेयर खड्कीले बैठकका एजेण्डाहरु बैठक हुनुभन्दा २४ घन्टा अगाडि बोर्ड सदस्यको हातमा पुर्याउनु पर्ने माग गरेकी थिइन् । यो पटक पनि त्यसको कार्यान्वयन नगरेपछि बैठक बहिस्कार गर्नुपरेको उनले बताइन् ।

उपमेयर खड्कीले हनिमुन पिरियड भरी आफूहरुले मेयरलाई सहयोग गर्दै आएको तर मेयरले एकलौटी शासन गर्न खोजेको आरोप लगाइन् ।

मेयर शाक्यले आफू निर्वाचित भएपछिका १०० दिनमा गर्ने भनिएका १०१ कामको प्रगति विवरण र श्वेतपत्र बोर्ड बैठकबाट पारित गराएर बिहिबार सार्वजानिक गर्ने कार्यक्रम थियो ।


पुष्प दुलाल