काठमाडौंमा तरकारीः पोहोरकोभन्दा दोब्बर महंगो




काठमाडौं । यो वर्ष दशै आउन २० दिन मात्र बाँकी रहदा कालिमाटी तरकारी बजारमा भने तरकारीको मूल्य आकाशिएको छ । भान्छामा दैनिक प्रयोग हुने गोलभेडा, प्याज, लसुन तथा कागतीको मूल्य अघिल्लो बर्षको दशैबेलाकोभन्दा दोब्बर महंगो भएको छ ।

बजार मूल्य संकलन गर्दा दैनिक प्रयोग हुने तरकारीको भाउ बढेको देखिए पनि समग्रमा मूल्य घटेको कालिमाटी तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल बताउँछन् ।

कालिमाटीमा करिब ५ हजार ५ सय तरकारी तथा फलफूल पसलहरु रहेको छन् । तरकारी बजारमा धादिङ, काभ्रे तथा मकवानपुर जस्ता विभिन्न स्थानबाट तरकारी तथा फलफूल आउने गर्छन् ।

पोहोर यसै दिन अर्थात २०७३ भदौ २१ र यो वर्षको भदौ २१ गतेकै तरकारीको मूल्य तुलना गर्दा बजार भाउ बढेको देखिएको हो । यसरी तुलना गर्दा हरियो प्याज र हरियो लसुनमा सबैभन्दा बढी मूल्य बृद्धी भएको पाइएको छ । २०७३ भदौ २१ गतेको तरकारीको मूल्य सूचीमा हरियो प्याज र हरियो लसुनको मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहको थियो । यसबर्षको भदौ २१ गते हरियो प्याज र लसुन दुबैको मूल्य प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ ।

यस्तै ठूलो गोलभेडा अघिल्लो वर्ष प्रतिकेजी ३८ रुपैयाँ रहेको थियो भने यो वर्ष ६८ रुपैयाँ पुगेको छ । यस्तै सानो गोलभेडा अघिल्लो वर्ष केजीको ४५ रुपैयाँ रहेको थियो भने यो वर्ष ४८ रुपैयाँमा पुगेको छ ।

रातो आलुको मूल्य अघिल्लो वर्ष बढेर आएको थियो भने यो वर्ष अलि कम भएको अनुभव गरिएको छ । अघिल्लो वर्ष यसै समयमा रातो आलुको मूल्य केजीको ३८ रुपैयाँ रहेको थियो । यो वर्ष दशै आउन २० दिन बाकी रहदा आलुको मूल्य केजीको ३२ रुपैयाँ पुगेको कालिमाटीका विक्रेताले बताए ।

सेतो आलुको मूल्य पनि योपाली कालिमाटी बजारमा निकै कम भएर आएको छ । सेतो आलुको मूल्य अघिल्लो वर्ष केजीको ३३ रुपैयाँ रहेको थियो । यो वर्ष केजीको २९ रुपैयाँ छ । सुकेको प्याजको मूल्य पनि अघिल्लो वर्ष भन्दा १० रुपैयाँ बढेर आएको छ । अघिल्लो वर्ष यसै समयमा सुकेको प्याजको मूल्य केजीको ३३ रुपैयाँ रहेको थियो भने यो वर्ष केजीको ४४ रुपैयाँ पुगेको छ । यस्तै अदुवामा भने मूल्य पहिलेको भन्दा अलि कम भएको देखिन्छ । अघिल्लो वर्ष अदुवाको मूल्य केजीको ६५ रुपैयाँ रहेका थियो भने यो वर्ष केजीको ५२ रुपैयाँमा झरेको छ ।

अघिल्लो वर्ष कागती १ सय गोटाको ४ सय २५ रुपैयाँ रहेको थियो । यो वर्ष भने कागतीको मूल्य अलि धेरै नै बढेको छ । कालिमाटी बजारका बजारका कार्यकारी निर्देशक पौडेलका अनुसार कागतीको मूल्य यो वर्ष १ सय गोटाको ५ सय ७५ रुपैयाँ पुगेको छ ।

२०७३ भदौ २१ गतेको तरकारीको मूल्य सूचीमा हरियो प्याज र हरियो लसुनको मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहको थियो । यसबर्षको भदौ २१ गते हरियो प्याज र लसुन दुबैको मूल्य प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ ।

सुकेको खुर्सानी र हरियो खुर्सानीमा भने मूल्य घटेर आएको छ । सुकेको खुर्सानीको मूल्य अघिल्लो वर्ष केजीको २७५ रुपैयाँ रहेको थियो भने अहिले केजीको १९५ रुपैयाँमा झरेको छ । हरियो खुर्सानी अघिल्लो वर्ष केजीको ७८ रुपैयाँमा कालिमाटीमै खरिद गर्न पाइन्थ्यो । यो वर्ष हरियो खुर्सानीको मूल्य घटेर केजीको ४८ रुपैयाँ भएको छ ।

हरियो धनियाँको मूल्य अघिल्लो वर्ष र यो वर्षमा कुनै परिवर्तन देखिएको छैन । हरियो धनियाको मूल्य केजीको १ सय ९५ रुपैयाँ रहेको छ । यो वर्ष सुकेको चाइनिज लसुन र नेपाली लसुनको मूल्य भने घटेको छ ।

सुकेको चाइनिज लसुन र नेपाली लसुनको मूल्य यो वर्ष बराबर रहेको छ । सुकेको लसुन चाइनिज र नेपाली लसुनको मूल्य यो वर्ष केजीको १ सय ७५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सुकेको लसुन चाइनिज केजीको २ सय ८५ रुपैयाँ रहेको थियो भने सुकेको लसुन नेपालीको मूल्य केजीको २ सय ४५ रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु