विराटनगर महानगरको बजेट १ अर्ब ६१ करोड, के के छन् कार्यक्रम ?



मोरङ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक १ अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलोे हुने बताइएको छ ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार बजेटको प्राथमिकता पूर्वाधार विकासमा छ ।

खाल्टाखुल्टी सडक निर्माणका लागि वडाबाट योजनाको छनोट भएर आएको छ । बजेटमा एशियाली विकास बैंकबाट सञ्चालित विराटनगरको बृहत्तर ढल, नाला निर्माणको बजेट यस वर्षको बजेटमा समावेश गरिने छैन ।

महानगरपालिकाबाटै सञ्चालन हुने उक्त आयोजनाको बजेट विगतको परिषद्मा समावेश हुने गथ्र्यो ।

कोइरालाका अनुसार महानगरपालिकाले यस वर्षको अनुमानित बजेटमध्ये करिब रु एक अर्ब विकास बजेटमा छुट्याउनेछ ।

‘धुवाँधुलोमुक्त शहरको परिकल्पना’ भन्ने नारासहित महानगरपालिकाले सडक पूर्वाधारमा विशेष जोड दिने नीति बनाएको छ ।

विषयगत कार्यालयहरु पशु, कृषि, स्वास्थ्य र शिक्षाका कर्मचारीको प्रशासनिक खर्चमात्र यो बजेटमा समावेश हुनेछ । कोइरालाले विषयगत र महानगरपालिकाका कर्मचारीका लागि ५० करोड तलवमा खर्च हुने र बाँकी रकमले नगरको विकास गरिने बताए ।

महानगरपालिका घोषणा हुनुअगावै सरकारले ८१ करोड बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिका हुँदै दिएको रकम महानगरपालिका घोषणा भएपनि थप गरिएन ।

यस्तै महानगरपालिकाको वार्षिक अनुमानित आम्दानी २७ करोड, सडक बोर्ड, पूर्वाधार विकास, समपूरक कोषबाट प्राप्त हुने रकम, नेपाल सरकारले दिने विशेष अनुदानलगायतबाट महानगरपालिकाले अनुमान गरेको बजेट १ अर्ब ६१ करोड हुने कार्यकारी अधिकृत कोइरालाको भनाइ छ । रासस


पुष्प दुलाल