भदौ २८ देखि दशैंका लागि नयाँ नोट, कहाँ-कहाँ र कति साट्न पाइन्छ ?



काठमाडौं । हिन्दु धर्मावलम्बीको महान चाड दशैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले दशैंका लागि भदौ २८ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

त्यसका लागि लागि पर्याप्त नोटको व्यवस्था गरिसकेको राष्ट्र बैंकका नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । ५, १०, २० ५० र १०० रुपैयाँ दर नयाँ नोट साट्न पाइने छ ।

राष्ट्र बैंकले बढीमा एकजना सर्वसाधारणलाई २७ हजार रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराउने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ ।

तर, नेपाल बैंक, कृषि विका बैंक र राष्ट्रिय वाणिज्य बैंकमा गएर नयाँ नोट साट्नु परे २० हजार रुपैयाँभन्दा बढी पाइने छैन ।

राष्ट्र बैंकले यसअघि आफ्नो आफैंले मात्रै सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट बाँड्थ्यो भने बैंकहरुलाई पनि नयाँ नोट दिन्थ्यो ।

तर, यस वर्ष भने ३ वटै सरकारी बैंकका १६ शाखाबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको हो ।

कहाँ कहाँबाट पाइन्छ ?

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ ।

सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

त्यसका अलावा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवश्यकता हेर नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा गएर पनि नयाँ नोट साट्न पाउने छन् ।


पुष्प दुलाल