पहिरो र रूख हटाई यातायात सञ्चालन




मकवानपुर । त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले अवरुद्ध बाटो खोलिएको छ । सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो पहिरो हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिमभञ्ज्याङमा रहेका प्राविधिक र डोजर त्यसतर्फ पठाई तत्काल यातायात सञ्चालनमा ल्याउन सक्रिय रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

यसैगरी, चितवनको मुग्लिन सडक दुवैतर्फ अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आएका सवारीसाधन अहिले नियमित हेटौँडा हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताएका छन् । रासस


पुष्प दुलाल