काठमाडौंका कुकुरलाई जर्मनीबाट चिठी



प्रिय काठमाडौंका कुकुरहरू,

गएको डिसेम्बरमा मेरा श्रीमानसँगै काठमाडौंसम्मको यात्राले मैले जीवनमा सोच्दै नसोचेको परिवर्तन आएको छ, एकदमै गहिरो ।  खासमा गैडा, बाघ र सगरमाथा हेर्ने रहरले १० दिनका लागि हामी यो भ्रमण तय गरेका थियौं, जुन पुरा भयो पनि । यसै यात्रामै मैले नेपालमा यस्तो एउटा कारुणिक अवस्था देखें जुन संसारमा कहि कतै देखेकी थिइन ।

प्रिय कुकुर, काठमाडौंमा तिमी जस्तै ३० हजार जतिको संख्यामा छन् । जता गयो उतै छन् । तिमीहरू मध्ये कुनै हँसिलो खुशीलो कुनै कुकुर पनि भेट्न सकिन् । भोकले छट्टपटिएका, खानाको लागि संघर्ष गरिरहेका, सडका बेवारिसले पल्टिरहेका, गर्भवती र घाइतेहरू जताततै देखें । मान्छे तिमीलाई यातना दिन्छन्, त्यसको कुनै कारण नै चाहिँदैन । मात्र रमाइलोका लागि ।

मान्छे तिमीलाई यातना दिन्छन्, त्यसको कुनै कारण नै चाहिँदैन । मात्र रमाइलोका लागि ।

म सगरमाथा हेर्ने माउन्टेन फ्लाइटको तयारीमा थिएँ । एयरपोर्टमा लाइन लाग्दा तिमी जस्तै एउटा कुकुरलाई एकजनाले ज्यादै नराम्रोसँग प्रहार गर्यो । एउटा खुट्टा उचाल्दै उ रून थाल्यो । मेलै एयरपोर्टको पसलबाट एउटा स्यान्डविच किनेर, कुनामा लगेर खुवाए । मैले त्यतिबेला गर्न सक्ने त्यति नै थियो । अमिलो मन बनाएर म सगरमाथा हेर्न गए । फर्केर आउँदा उसलाई त्यहाँ भेटिन् ।

दुईदिन काठमाडौंमा बिताउनु थियो । तर मलाई होटल बाहिर जान मन लागेन । जता गयो तिमीहरू माथिको यातना, पिडा मलाई हेर्न गाह्रो भयो । मैले क्याट सेन्टर कपनमा सम्पर्क गरेँ । एउटा खुट्टा नभएको ‘जिम्बा’ कुकुरलाई जिम्मा लिएर आफूसँगै जर्मनी ल्याएकी छु ।

घर फर्किदाँ त म खुशी भएहोला भन्ने ठानेउ नि? पक्कै हो । तर अरू सबै भ्रमणबाट फर्किए भन्दा एकदमै भिन्न । मेरो सोचाई, ध्यान यति एकोहोरिएछ कि सडकपारीका थुप्रा र थुम्कालाई मरिरहेका कुकुरको स्वरूपमा देखिराखेकी थिए । मलाई लाग्यो अब मैले केही गर्नु पर्छ । त्यसपछी मैले फेसबुकमा ‘डन्ट प्यानिक नेपाली डग, वि विल फाइन्ड यु अ होम’ ग्रुप सुरू गरेँ । काठमाडौं बस्ने जुलिया क्रेप्स र रितु थापासँग सम्पर्क भयो । त्यो बेलादेखि हाम्रो समूह सक्रिय छ ।

सुरूमा हामीले सबै तिमीहरूलाई नेपाली परिवारकै जिम्मा लगाउने छौं भनेर सोच्यौं । तर, तिमीजस्ता कुकुरलाई नेपाली परिवारमा जिम्मा लगाउने कुरा करिब असम्भव नै रैछ । त्यसैले अहिले हामीले तिमीहरूको अन्तरराष्ट्रिय ‘एडप्सन’मा नै ध्यान दिएका छौं ।

हामीले थुप्रै तिम्रा साथीलाई क्यानेडियन, अमेरिकन, जर्मन र अस्ट्रियन बनाइसकेका छौं । नयाँ परिवारमा तिमीहरूको खुसी अनुहार देख्ने नै हाम्रो धोको हो । तिम्रो आफै जन्मेको देशमा त्यो सम्भव भएन । हामीले गर्नै पर्‍यो ।

प्रिय कुकुरहरू, तिमीहरू सबैलाई उद्वार गर्न सक्ने हाम्रो क्षमता छैन, तर केहीलाई भएपछी खुशीको जीवन दिन पक्कै सकिन्छ । सधैं यस्तो हुने छैन । एउटा ठूलो आशा छ, नयाँ नेपाली पुस्ताले तिमीहरूको चासो लिने छ । महात्मा गान्धीको भनाइ छ: ‘देशको महानता मापन त्यो देशमा जनावरलाई कस्तो व्यवहार गरिन्छ भन्नेबाट हुन्छ ।’

एउटा ठूलो आशा छ, नयाँ नेपाली पुस्ताले तिमीहरूको चासो लिने छ ।

तिम्रै प्यारी

डानिला ड्रिस

जर्मनी

अनुवाद: प्रवेश सुवेदी


क्लिकमान्डु