डोल्पावासीको चामल २ वर्षदेखि काठमाडौंमा



काठमाडौं । डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले २ वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् ।

विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल २ वर्षदेखि काठमाडौंमै थन्किएको छ ।

उपल्लो डोल्पाको लागि छुट्याइएको ६ हजार ८ सय क्वीन्टल चामल र तीन हजार क्वीन्टल नुन काठमाडौँको गोदाममा थन्किएको छ । खाद्यान्न संकटको मार खेपिरहेको उपल्लो डोल्पामा दुई वर्षदेखि अनुदानको चामल र नुन नजाँदा उपल्लो डोल्पावासी मर्कामा परेका छन् ।

केरुङ नाका विवादका कारण माथिल्लो डोल्पामा चामल लैजान नसकिएको ठेकेदार विजय रोेक्काले बताए । भन्सार करमा वृद्धि भएकाले व्यापारीसँग कुरा नमिलेपछि समयमै खाद्यान्न ढुवानी हुन नसकेको उनको भनाइ छ । माथिल्लो डोल्पामा चामल लैजान एक सय भन्दा धेरै ट्रक आवाश्यकपर्ने भएको र केरुङ नाका जान रसुवाकै नागरिक चालक हुनु पर्ने प्रावधान भएकाले अन्य चालकले जान नपाउने भएपछि ढुवानीमा समस्या भएको रोकायले बताए ।

‘अबको एक साताभित्र गतवर्ष देखिको सञ्चित चामल र नुन माथिल्लो डोल्पा पुग्छ, जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीले भने ।

हरेक वर्ष उपल्लो डोल्पाका तीनवटा गाउँपालिकामा तिब्बतको नाका हुँदै खाद्यान्न ढुवानी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । विगतका वर्षमा तातोपानी नाकाबाट खाद्यान्न लैजाने गरे पनि भूकम्पले उक्त नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए ।

भौगोलिक कठिनाइका कारण माथिल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पा बुद्ध गाउँपालिकाका बासिन्दाले वर्षमा एक पटक मात्र सरकारी सहुलियतको खाद्यान्न पाउने गर्दछन् । रासस


क्लिकमान्डु