‘बेलुन’जस्तो सेयर किन्नुहोस्, अनि हुन्छ फाइदा



काठमाडौं । पछिल्लो समय सेयर बजार केहि स्थिर छ । खासै धेरैै घटबढ भएको छैन । त्यसैकारण सेयर ‘बिश्लेषक’हरु पनि बिश्लेषण गर्ने बिषयवस्तु नपाएर उक्ताएका छन् ।

लगानीकर्ता पनि सुस्ताएका छन् । सामाजिक सञ्जालमा आक्रोश वा उत्साह दुवै पोखिएका छैनन् ।

यो अवस्थालाई केहि गहिरिएर हेर्ने हो भने के पुष्टि हुन्छ भने सेयर बजार सामूहिक मनोबिज्ञानबाट चल्ने बजार हो । अन्य सूचक वा बृहत आर्थिक अवस्था त केवल सहायक मात्र हुन् ।

‘बिश्लेषक’हरु एकै पटक आफ्ना ‘जबरजस्त’ बिश्लेषण लिएर मिडिया र सामाजिक सञ्जालमा झुल्किन्छन् भने लगानीकर्ताहरु पनि एकै पटक ओइरिएर आक्रोश वा उत्साह पोख्छन् ।

सेयर बढ्नका लागि हलुका हुन जरुरी छ, बेलुन जस्तै । बेलुन हलुका भएका कारण माथि माथि उड्नसक्छ भने ढुङ्गा गह्रौं भएका कारण ठुलै हावाले पनि हल्लाउनै सक्दैन ।

सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको एउटा वाक्य छ, ‘अरु डराएका बेला आफु लोभी हुनु । र, अरु लोभी भएका बेला आफु डराउनु’ ।

तर, सेयर बजारका सामान्य लगानीकर्ता अरु डराए आफु पनि डराउँछन् । र, अरु लोभी भए आफु पनि लोभिन्छन् । वारेन बफेटलाई सम्मान गर्छन् । उनीजस्तै कमाउन पनि चाहन्छन् । तर, उनको भनाइमा गहिरिएर घोत्लिदैनन् ।

यहि स्वभावले गर्दा सामान्य लगानीकर्ताहरु जहिले पनि सामुहिक रुपमा एउटै प्रश्न गर्छन्, ‘मैले किनेपछि जहिले पनि सेयर बजार किन घट्छ ?’ वा ‘अरु सबै कम्पनीको सेयर मुल्य बढ्दै गर्दा पनि मैले किनेको कम्पनीको सेयर मुल्य किन घट्छ वा तुलनात्मक रुपमा कम बढ्छ ?’

वास्तविकता पनि करिब यस्तै हुन्छ । जब सामान्य लगानीकर्ताहरु कुनै कम्पनीको सेयर किन्न बजार पस्छन्, त्यसै दिन वा भोलीपल्टै देखि सो कम्पनीको सेयर मुल्य घट्न थाल्छ । उनीहरुले लिनुभन्दा अघि भने त्यो सेयरले बजारमा राम्रै गरिरहेको हुन्छ । अनि आफुले छोडेको सेयर भने बढ्न थाल्छ ।

यसको पछाडिको प्रमुख कारण के हो भने एउटा आम लगानीकर्ता जे सोचिरहेको हुन्छ, अरु लाखौं सामान्य लगानीकर्ता पनि त्यहि सोचिरहेका हुन्छन् ।

उनीहरु सेयर किन्नुअघि केहि कुराहरु हेर्छन् । जस्तो, सेयर सस्तो छ कि छैन ? एउटा कम्पनीको सेयर प्रतिकित्ता ३ हजार रुपैंयाँ छ, अनि अर्कोको ३ सय रुपैंयाँ छ भने सामान्य लगानीकर्ता प्रतिकित्ता ३ सय रुपैंयाँ वाला सेयर किन्न बजार छिर्छन्, दुवै कम्पनी राम्रो लागे पनि । उनीहरुलाई सेयर संख्याको अत्याधिक मोह हुन्छ ।

दोस्रो, उनीहरु त्यस्तो सेयर छान्छन् जुन सेयर बिगत केहि समय देखि बढेको छैन । उनीहरुको सामान्य बुझाई के हुन्छ भने धेरै समय स्थिर रहेको हुनाले अब भने यो सेयरको बढ्ने पालो हो ।

तेस्रो, उसका साथीभाई, आफन्त, अरु लगानीकर्ता आदिले सिफारिस गरेको सेयर नै उसले किन्छ ।

जुन सेयर उसले छोडेको हुन्छ, त्यसको बारेमा भने उसले सल्लाह लिएका प्राय सबै ब्यक्तिले ‘यो महङ्गो छ, नकिन’ भनेका हुन्छन् । त्यसैकारण उ महङ्गोको ठाउँमा सस्तै छान्छ ।

तर, जब उ त्यो सस्तो सेयर किन्छ, तब के महशुस गर्न थाल्छ भने आफुले महङ्गो भनेर छोडेको सेयर अझै महङ्गो हुँदै छ । र, आफुले किनेको सेयर भने पुरानै ठाउँमा वा अझै तल गएको छ ।

यसको पछाडिको कारण के हो भने तपाईं जस्तो हुनुहुन्छ अरु पनि त्यस्तै त छन् । तपाईं जुन–जुन कुरालाई आधार बनाएर सेयर किन्दै हुनुहुन्छ, बाँकी लगानीकर्ता पनि त्यहि तथ्यलाई आधार बनाइरहेका हुन्छन् । तपाई अरुभन्दा फरक हुनुभएन ।

उदाहरणको लागि, सबैले सस्तो भनेर प्रतिकित्ता ३ सय रुपैंयाँको सेयर किनेपछि त्यो सेयर बढ्नै सक्दैन । यो भनेको ‘ओभर ओनरसिप’ को कुरा हो । सबैसँग त्यो सेयर भएपछि किन्ने कसले ? कुनै पनि सेयर बढ्नका लागि हलुका हुन जरुरी छ, बेलुन जस्तै । बेलुन हलुका भएका कारण माथि माथि उड्नसक्छ भने ढुङ्गा गह्रौं भएका कारण ठुलै हावाले पनि हल्लाउनै सक्दैन ।

सेयर मुल्य बढ्ने भनेको त्यस्तो सेयरको हो, जुन सेयर धेरै लगानीकर्ताहरु बाट छुटिसकेको हुन्छ । त्यस्तो सेयर जुन चाहँदा चाहँदै पनि धेरै लगानीकर्ताले लिनै सक्दैनन्, महङ्गो भएका कारण ।

सेयर बजारमा धेरै चर्चा नगरिने तर बास्तविकतासँग धेरै नजिक रहेको तथ्य के हो भने, सस्तो सेयर अझै सस्तो हुँदै जान्छ र महङ्गो सेयर अझै महङ्गो हुँदै जान्छ ।

त्यसोभए के अहिले सस्तो र धेरैजनासँग भएको सेयरको मुल्य कहिल्यै पनि बढ्दैनन् त ?

त्यस्तो पनि होइन । सेयर बजार भनेको एउटा चक्र पनि हो । धेरै लगानीकर्ताहरु आफुले किनेको सेयर केहि समय नबढेपनि केहि समय पर्खन्छन् । तर, जब बर्षौसम्म सेयर मुल्य बढ्दैन, तब उनीहरुको धैर्यताको बाँध टुट्छ । र, उनीहरु त्यो सेयर बेचेर अन्यत्रै लाग्न थाल्छन् ।

जतिजति सामान्य लगानीकर्ता त्यो स्थिर र नबढ्ने सेयर बेच्न थाल्छन्, त्यतित्यति त्यो सेयर हलुका हुन थाल्छ । अनि हलुका भएको सेयर कुनै सानो ‘हावा’ (बुल रन) ले पनि ह्वात्तै माथि लगिदिन्छ ।

त्यसपछि आम मनोबिज्ञानले के भन्छ भने, ‘बढिरहेको सेयर जब म किन्छु, तब घट्छ अनि जब म बेच्छु तब बढ्छ । कर्म नै खाटो के गर्नु ?’

समग्रमा यहाँ भन्न खोजिएको कुरा के हो भने सेयर बजारमा कमाउनका लागि ‘एक्लै’ हिँड्नु पर्छ । अरुले भन्दा फरक सोच्नै पर्छ । संभवत सेयर बजार मात्र त्यस्तो क्षेत्र होला जहाँ सामुहिक सहभागिताले घाटा पुर्याउँछ ।

त्यसैले त महान् लगानीकर्ता बफेटले भनेका, ‘अरु डराएका बेला आफु लोभी हुनु र अरु लोभी भएका बेला आफु डराउनु’ ।

यो एउटा निश्चित सिद्धान्तलाई आधार बनाएर लेखिएको लेख हो, जसमा प्रशस्त अपवादहरु भेटिन सक्छन् ।


पुष्प दुलाल