किष्ट बैंकको सवा ४ करोड ठग्ने वस्ताकोटीलाई प्रहरीले पक्रियो, कहाँ होलान् कमल ज्ञवाली ?



काठमाडौं । तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार रहेकी देवकी वस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
जम्को प्रकाशन प्रालिकी सञ्चालक समेत रहेकी ४२ वर्षिय बस्ताकोटीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले बिहीबार बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो ।

भक्तपुर जिल्ला दुवाकोट घर भएकी बस्ताकोटी प्रहरीबाट पक्राउ पर्नबाट जोगिन भागीभागी हिँडेकी थिइन् । सीआइबीले अदालतको फैसला कार्यान्वयनका लागि मोरङ्ग जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनले २०७३ जेठ ३ गते बैंकिङ कसूर गरेको ठहर गर्दै ४ बर्ष कैद र ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरीवानाको सजाय सुनाएको थियो ।

काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशनकी संचालक वस्ताकोटीले ब्यबसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि भन्दै बैंकका तत्कालिन प्रमुख कमल ज्ञवालीको सहयोगमा किष्ट बैैंकबाट कर्जा लिएकी थिइन् ।

त्यतिमात्रै होइन, बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीहरु समेतलाई प्रभावमा पारी धितो वापत कम्पनीको स्टकमा रहेका पुस्तकको मुल्य बराबरको रकम ६ करोड ६ लाख ४६ हजार ५ सय ९० रुपैयाँमध्ये उधारोमा गएका पुस्तकको उठाउन बाँकी रकम ५ करोड ५० लाख ४८ हजार रुपैयाँलाई धितो देखाएकी थिइन् ।

भक्तपुर जिल्ला साविक दिब्यपुरी १६ का बिभिन्न स्थानका जग्गाहरुको मुल्य समेत गरी कुल रकम १७ करोड ५ लाख रुपैयाँ हुने गरी कमसल धितोको अधिक मुल्याङ्कन गराई एकी थिइन् ।

यसरी अधिक मूल्यांकन गराइएको धितोमा उनले २०६७ असार ३१ गते किष्ट बैंकबाट १२ करोड रुपैयाँ जोखिमयुक्त कर्जा लिई सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेकी थिईन् ।

जम्को प्रकाशन काण्डमा मुछिएका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पनि करोडौं ठगी गरेर फरार छन् । ज्ञवाली आधाजसो विदेश बस्ने गरेको स्रोतहरुको दाबी छ ।

ज्ञवालीविरुद्ध सीआइबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किष्ट बैंकको अस्तित्व गुमेको छ । प्रभु समूहले किष्ट बैंकलाई किनेर अहिले प्रभु बैंककोरुपमा सञ्चालन गरिरहेको छ ।


पुष्प दुलाल