सैनामैना नगरपालिकाको बजेट ५४ करोड



रुपन्देही । सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ का लागि ५४ करोड ६७ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताए ।

सडक पूर्वाधार निर्माण प्राथमिकता दिँदै नगर क्षेत्रको गुरुयोजना बनाउने र मुख्य सडक कालेपत्रे तथा स्तारोन्नति गर्न ६ करोड ७३ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ । विद्यालयका प्राचार्यसँग कार्यसम्पादन सम्झौता गर्ने नीति बनाउन अध्ययन सुरु गरिने बजेटमा उल्लेख छ । शिक्षा क्षेत्रमा ९ करोड ८६ लाख ६९ हजार रुपैयाँ छ ।

यस्तै, कृषि तथा पशुपालनतर्फ १ करोड ३५ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । कृषि कार्यक्रमअन्र्तगत निर्वाहमुखी कृषि प्राणीलीलाई क्रमशः विस्थापित गरी व्यावसायिक कृषि प्रणलीको विकास, दुग्ध उत्पादनमा आत्मनिर्भर, सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थाको सवलीकरणका लागि १ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्रोहा स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस


क्लिकमान्डु