अब हेलिकप्टरबाटै पोखरा घुम्न पाइने, मूल्य कति पर्छ ?



काठमाडौं । पोखरामा घुम्न जानेहरुको लागि नयाँ प्रडक्ट थपिएको छ । दक्षिण एशियामै पहिलो पटक पोखरामा पर्यटक लक्षित हलुका हेलिकोप्टर सञ्चालनमा आउने भएको छ ।

साहसिक गतिविधिको हवको रुपमा विकास हुँदै गएको पोखरामा अब पर्यटकहरु हेलिकप्टरमा घुम्न पाउने भएका छन् । स्वदेशी र विदेशी दुवै पर्यटकलाई लक्षित गरिएको हुलुका हेलिकप्टर (ग्योरोकप्टर) संचालनको लागि अनुमति पाएसँगै पर्यटकले उक्त सुविधा पाउने भएका छन् ।

हेली एयर नेपालले हलुका हेलिकोप्टर (ग्योरोकप्टर) सञ्चालनमा ल्याउनले तयारी गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हेली एयर नेपाल प्रालिलाई व्यावसायिक उडानका लागि अनुमति दिएपछि केही दिनमा नै पोखराबाट उडान भर्ने तयारी गरेको छ ।

अनुमति पएसँगै कम्पनीले अर्को साताबाट उडान थाल्ने जानकारी हेली एयरका अपरेशन निर्देशक सन्त लामिछानेले जानकारी दिए । कम्पनीले दुईवटा लाइट हेलिकोप्टर ल्याइसकेको छ ।

हेलिकोप्टरमा एक जना मात्रै यात्रु बस्न मिल्छ । झण्डै चार महिना अघि हेलिकोप्टर ल्याए पनि गत साता कम्पनीले उडान अनुमति पाएको हो । कम्पनीले फ्रान्समा निर्मित ब्राण्ड न्यू हेलिकोप्टर ल्याएको हो ।

हेलियरका लागि बाग्लुङको बलेवा विमानस्थललाई मुख्य बेस र पोखरालाई सब बेस बनाएको कम्पनीले जनाएको छ ।

हेलिकोप्टरबाट आन्तरिक तथा बाह्य पर्यटकलाई माउण्टेन फ्लाइट, पोखराको दृश्य र अन्य दृश्यावलोकन मात्रै गर्न सकिने बताए । यो करीब १८ हजार फिट उचाइसम्म उड्न सक्छ ।

हेलिकप्टर ३ सय ८ किलो तौलको रहेको छ । यात्रुसहित ५ सय ६० किलो तौल बोकेर उड्न सक्ने क्षमता हेलिकप्टरमा रहेको छ ।

पोखरामा हेलकिप्टरमा घुम्न कति पर्छ ?

१५ मिनेट अवधिको १ सय ४९, ३० मिनेटको २ सय ४९, एकघन्टाको ३ सय ९८, डेढ घण्टाको ५ सय ४८ र दुईघन्टाको ६ सय ९८ अमेरिकी डलर शुल्क तोकेको छ ।

नेपालीका लागि भने छुट्टै प्याकेजको व्यवस्था ल्याउने भए पनि अहिले नतोकिएको कम्पनीले जनाएको छ ।


पुष्प दुलाल