इपिएस २७३ रुपैयाँ हुँदा पनि यो कम्पनीको सेयर कारोबार किन हुँदैन ?



काठमाडौं । सेयर बजारका लगानीकर्ताको लागि प्रति सेयर आम्दानी(इपिएस) बढी हुनु राम्रो मानिन्छ ।

लगानीकर्ताको लागि इपिएस बढी भएको कम्पनी आकर्षकमा पर्छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत एउटा कम्पनी छ जसको इपिएस २७३ रुपैयाँ छ । इपिएस २७३ रुपैयाँ भएपनि यो कम्पनीको सेयर कारोबार नभएको एकवर्षभन्दा बढी भइसक्यो ।

यसरी इपिएस बढी भएपनि कारोबार नहुँने कम्पनी बोटलर्स नेपाल बालाजु हो । १९ करोड ४८ लाख चुक्ता पुँजी भएको बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्षमा ५८ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

अन्तिम पटक २०७३ कात्तिक ३० गते कारोबार भएको थियो । यसको अन्तिम पटक प्रतिकित्ता १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

इपिएस २७३ भएको कम्पनीको माग नभएर कारोबार नभएको भने होइन । यसको सेयर बिक्री गर्ने कोही नभएको हुँदा कारोबार नभएको हो । बोटलर्स नेपाल नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी हो ।

बोटलर्स नेपाल बालाजुको सेयर कारोबार नभएपनि कोकाकोला नै उत्पादन गर्ने अर्को कम्पनी बोटलर्स नेपाल तराईको भने नियमित सेयर कारोबार हुने गरेको छ । स्टक एक्सचेन्जमा ६ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

एकवर्षदेखि कारोबार नभएको हुँदा बोटलर्स नेपाल बालाजुको सेयर मुल्य स्टकमा अन्डरभ्यालु भएर बसेको छ ।


क्लिकमान्डु