यसकारण पो लगानीकर्ताले फरवार्ड माइक्रोफाइनान्स खोज्दा रहेछन्



काठमाडौं ।  गत आर्थिक वर्ष २०७३/ ७४ को वित्तीय विवरण प्रकाशित भएको दिन फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर मुल्य प्रतिकित्ता १९ रुपैयाँले घटेको छ ।

फरवार्डको सेयर मुल्य बिहीवार ३८ सय ४० मा आएको छ ।  यसको सेयर मुल्य ४ हजार माथि गएर झरेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा फरवार्डको २० लाख कित्ता सेयर सूचिकृत छ । फरवार्डले गत माघदेखि आइपिओ जारी गरेको हो । आस्वा प्रणाली पूर्ण रुपमा अनिवार्य नभएपनि फरवार्डको आइपिओमा यो प्रणालीको प्रयोग गरिएको थियो ।

नेप्सेमा सूचिकृत कम्पनीमा सेयर मुल्य बढी हुने कम्पनीमा फरवार्डपनि पर्छ । नेप्सेमा नियमित कारोबारको लागि सुचिकृत भएपनि यसको माग र मुल्य अत्याधिक छ । मार्केट डेप्थ हेर्दा फरवार्ड किन्न चाहने लगानीकर्ताको चाहना धेरै नै रहेको हुन्छ । सेयर आपूर्ति कम भएको हुँदा स्वभाविक रुपले बढी हुन्छ ।

फरवार्डले बिहीवार गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार फरवार्डले २५ करोड नाफा गरेको छ । चुक्ता पुँजी २० करोड रहेको फरवार्डले २५ करोड नाफा गरेको छ । अर्थात चुक्ता पुँजीभन्दा ५ करोड बढी फरवार्डले नाफा कमाएको छ ।

यस आधारले फरवार्डको प्रति सेयर आम्दानी १२५ रुपैयाँ ३४ पैसा छ । सेयर लगानीकर्ताको रोजाई इपिएस बढी भएको कम्पनीमा पर्छ ।

लघुवित्त कम्पनीमा अत्याधिक नाफा कमाउने संस्थामा फरवार्डपनि पर्छ । वित्तीय विवरणमा उल्लेख भए अनुसार फरवार्डले अहिले ३४ जिल्लामा ९७ शाखा मार्फत २ लाख १२ हजार जनालाई लघुवित्तको सेवा दिइरहेको छ ।

वित्तीय विवरण प्रकाशित भएपछि घटेको सेयर मुल्यले भने लगानीकर्ताले अपेक्षा गरे अनुसारको विवरण फरवार्डबाट नआएको देखिन्छ । एकवर्षको अवधीमा फरवार्डले ४७ प्रतिशतले नाफा बढाएको छ ।

फरवार्डले गत वर्ष ब्याज आम्दानीबाट मात्र ६५ करोड ७४ लाख रुपैयाँ कमाएको छ । अन्य आम्दानी वापत २ करोड ४२ लाख गरेको छ । जसले गर्दा फरवार्डको संचालन नाफा ६८ करोड १६ लाख छ ।

यस्तै फरवार्डले २० करोड रुपैयाँ कर्मचारी खर्च गरेको छ । एक वर्ष अगाडि कर्मचारीको लागि १२ करोड खर्च भएको थियो । ३ करोड ५८ लाख रुपैयाँ कर्मचारीको बोनसको लागि गएको छ । आयकर वापत १० करोड तिरेको छ ।

 


क्लिकमान्डु