एक वर्षमा नेपालीले कोक पिउन कति पैसा खर्च गरे ?



काठमाडौं । पिउने मामलामा नेपाली अगाडि नै छन् । मदिरा या सफ्ट ड्रिंक्समा नेपालीले राम्रो नै रकम खर्च गर्ने गर्छन् ।

संसारभर हल्का पेय पदार्थमा सबैभन्दा बढी कोक पिउने गरिन्छ । कोकाकोलाले कोक, फेन्टा र स्प्राइट प्रोडक्ट मेजर प्रोडक्टको रुपमा ल्याएको छ ।

नेपालमा कोकाकालाको उत्पादन बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईबाट हुन्छ । जसमा बोटलर्स बालाजु कम्पनी काठमाडौंको बालाजुमा छ भने बोटलर्स तराई चितवनमा रहेको छ ।
दुवै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत छन् । कम्पनीको मुख्य प्रवद्र्धक एउटै समूह हो ।

दुवै कम्पनीले गरेको बिक्रीलाई एकीकृत गर्दा १२ अर्ब २३ करोड रुपैयाँको कोकाकोलाको प्रोडक्ट बिक्री भएको छ । यसको मतलब नेपालीले गतवर्ष १२ अर्ब २३ करोड बराबरको कोकाकोलाका विभिन्न प्रोडक्टको उपभोग गरेका छन् ।

अघिल्लो वर्ष ९ अर्ब ९२ करोड रुपैयाँको कोकोकालाका उत्पादन बिक्री भएको थियो । एक वर्षको अवधीमा २ अर्ब ३१ करोड रुपैयाँले कोकाकोलाको उत्पादनको बिक्री बढेको छ ।

दुवै पब्लिक कम्पनी भएको हुँदा यसको वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ ।

सार्वजनिक भएको गतवर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स नेपाल बालाजुले ५८ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो खुद नाफा ४३ करोड रुपैयाँ थियो । सेयरधनीलाई नाफा बाढ्नको लागि ५३ करोड रुपैयाँ प्रयोग गर्न पाउने विवरणमा उल्लेख छ ।

यस्तै बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षमा ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष बोटलर्स नेपाल तराईको खुद नाफा २७ करोड ६७ लाख थियो ।

बोटलर्स नेपाल बालाजुले गतवर्ष ७ अर्ब ६६ करोड रुपैयाँको कोकाकोलाका बिक्री गरेको छ भने बोटलर्स नेपाल तराईले ४ अर्ब ५७ करोड रुपैयाँको बिक्री गरेको छ । बिक्रीको लागि बोटलर्स नेपाल बालाजुले ५ अर्ब २७ करोड खर्च गरेको छ भने बोटलर्स नेपाल तराईले ३ अर्ब खर्च गरेको छ ।

बोटलर्स नेपाल बालाजुको १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी छ भने बोटलर्स नेपाल तराईको १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स नेपाल बालाजुको प्रतिसेयर आम्दानी २ सय ७३ रुपैयाँ छ । बोटलर्स नेपाल बालाजुको ३ सय २७ रुपैयाँ रहेको छ ।

बोटलर्स नेपाल बालाजुको भने पछिल्लो एकवर्षदेखि सेयर कारोबार भएको छैन । एकवर्ष अगाडि बोटलर्स नेपाल बालाजुको प्रतिकित्ता १६ सय ६० रुपैयाँमा सेयर कारोबार भएको थियो ।

बोटलर्स नेपाल तराईको भने सेयर बजारमा नियमित कारोबार हुने गर्छ । यसको प्रतिकित्ता ७ हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको छ ।


क्लिकमान्डु