भरतपुर महानगरमा एमालेका निर्वाचित प्रतिनिधिले शपथ लिएनन्



चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द् र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथ ग्रहण गरेपनि नेकपा एमालेका तर्फबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले भने शपथ ग्रहण गरेनन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह र वडा अध्यक्षलाई शपथ गराएका थिए । सोही अवसरमा प्रमुख दाहालले वडा सदस्यहरुलाई शपथ गराए ।

प्रमुख दाहाल माओवादी केन्द्रका तर्फबाट र उपप्रमुख शाह काँग्रेसका तर्फबाट निर्वाचित भएका हुन् । महानगरमा एमालेले १४ वडा अध्यक्षसहित ७० सदस्य, नेपाली काँग्रेसले १२ वडा अध्यक्षसहित ६९ सदस्य र माओवादी केन्द्रले ३ वडा अध्यक्षसहित आठ सदस्य पद जितेको छ ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र च्यात्ने र षड्यन्त्र गर्नेहरुको रोहवरमा एमाले जनप्रतिनिधिले शपथ ग्रहण नगर्ने बताए ।

‘यो कार्यक्रममा मतपत्र च्यात्ने र षड्यन्त्र गर्ने पनि छन्, उनीहरुको रोहवरमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिले शपथ ग्रहण गर्दैनन्’ उनले भने ।

उनले मतपत्र च्यात्नेहरुसँगै शपथ गराउँदा लोकतन्त्रको खिल्ली उड्ने बताउँदै छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट विजयीलाई शपथ ग्रहण गराउनु पर्ने बताए ।

तर प्रमुख दाहालसँग एमालेका तर्फबाट निर्वाचित वडा सदस्यले शपथ भने लिने बताए । एमाले चितवनको आज सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाको वडा नं ४ र ७ का निर्वाचित दुई वडाध्यक्षले भने शपथ ग्रहण गर्न नपाउने भएका छन् । उनीहरु दुवै जना एमालेका तर्फबाट निर्वाचित भएका हुन् ।

दुई वडाका पराजित वडा अध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए ।

सोपश्चात जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु÷नगराउनु भनी विपक्षीका नाममा आदेश दिएको थियो ।

उच्च अदालतबाट अन्तिम फैसला भई नसकेकाले वडा नं ४ का वडाध्यक्ष हरि आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको शपथ आजका लागि रोकिएको हो ।

वडा नं ४ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उपेन्द्रराज सापकोटा सात मतान्तरले पराजित हुनु भएको थियो भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए ।

कम मतले पराजित हुनु भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गर्नु भएको थियो ।

भरतपुर महानगरमा पहिलो चरणमा गत वैशाख ३१ गते निर्वाचन भएको थियो । मतगणनाका क्रममा वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडामा यही साउन २० गते पुनः मतदान गरिएको थियो । रासस


पुष्प दुलाल