अर्बपति चौधरीको प्रश्न,- ‘उद्योगीचाहिँ चोर अरु सबै साधु ?’




काठमाडौं । उद्योगी/व्यवसायीहरुले कानून बनाउनेहरुको नियतमा प्रश्न गरेका छन् । कानून र सरकारमा बस्नेहरुको खराब नियतका कारण नपालमा व्यवसायमैत्री वातावरण बन्न नसकेको उनीहरुको गुनासो छ ।

‘नेपालमा उद्योगी/व्यवसायीचाहिँ चोर अरु सबै असल भन्ने जस्तो व्यवहार गरिन्छ,’ नेपाल उद्योग परिसंघको कार्यक्रममा शुक्रबार अर्बपति विनोद चौधरीले भने, ‘सरकारमा बस्ने र कानूनको व्याख्या गर्नेहरु कस्ता छन् तपाईहरुलाई थाहा छँदै छ ।’

मुलुकको आर्थिक विकासका लागि सबै एक भएर अघि बढ्नुपर्ने चौधरीले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका कानूनहरु उद्योगीहरुका लागि कालो भएको भन्दै त्यस्ता कानूनहरु खारेज गर्नुपर्ने बताए । मुलुकको सम्मृद्धिका लागि आफूहरु लगानी गर्न तयार रहेको उनको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताइन् । स्थानीय निकायले जथाभावी कर बढाउन थालेकाले उद्योगी व्यवसायीहरु पलायन हुने अवस्था आउन सक्ने उनको भनाई थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यातमुलक उद्योग खोल्न आग्रह गरे । त्यसका लागि सक्दो सहयोग गर्न सरकार तयार रहेको देउवाले बताए ।

व्यापार घाटा बेपत्ताले बढेको भन्दै देउवाले उत्पादन बढाउनुपर्ने अहिलेको आवश्यता भएको धारणा राखे । उनले स्वदेशी र विदेशी पुँजी ल्याएर नेपालमा लगानी बढाउन आग्रह गरे ।

पूर्वप्रधानमन्त्री प्रचण्ड र केपी ओलीले अबको आवश्यकता आर्थिक विकास भएकाले लगानी बढाउन उद्योगीहरुलाई आग्रह गरे ।


पुष्प दुलाल