काठमाडौंका घरबेटीसँग महानगरले १३ गुणा बढी घरबहाल कर उठाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका घरबेटीबाट १३ गुणा बढी घरबहाल कर उठाउने भएको छ । महानगरले कडाइका साथ यस्तो कर उठाउन लागेको हो ।

महागनरले चालु आर्थिक बर्षमा घर बहाल करबाट २ अर्ब रुपैंयाँ राजश्व उठाउने लक्ष्य राखेको छ । जुन गत आर्थिक वर्षमा उठाइएको घरबहाल करभन्दा १३ गुणाले बढी हो ।

गत आर्थिक वर्षमा महानगरले १५ करोड घर बहाल कर उठाएको थियो ।

महानगरभित्र भित्रका घरधनीले अब भाडामा बस्नेसँग उठाएको भाडामध्ये १२ प्रतिशत रकम घरबहाल कर तिर्नुपर्ने छ ।

महानगरभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम,टहरा, छप्पर, सेड, जग्गा वा पोखरी वा अन्य सम्पत्ति वा आशिंक तबरले बहाल दिएको अबस्थामा सो बहाल कर तिर्नुपर्ने महानगरले हालै पारित गरेको आर्थिक ऐनमा उल्लेख छ ।

त्यसैगरी, यसै प्रकृतिका अन्यले बहालमा बसे वापत बहाल रकम बुझाउँदा स्रोतमै अग्रिम बहाल कर कटिृ गरी दाखिला गर्नुपर्ने महानगरले जनाएको छ ।

महानगरमा २ लाख ६० हजार घरधुरी रहेका छन् । जसमध्ये आधाभन्दा बढी घर भाडामा लगाइएका छन् । तर, पनि महानगरलाई अन्यत्नै कम मात्रै घरबहाल कर उठ्दै आएको छ ।

कसरी निर्धारण हुन्छ घरबहाल कर ?

बहाल कर निर्धारण प्रक्रिया बहालमा दिएको मितिलाई आधार मानी दैनिक, मासिक, त्रैमासिक, अर्ध वार्षिक वा वार्षिक अवधिलाई आधार लिई बहाल कर बुझाउन पर्नेछ । त्यस्तै क्षेत्रगत आधारमा महानगर कार्यपालिकाले न्यूनतम बहाल दर तोक्न सक्नेछ ।

महानगर कार्यपालिकाले निर्धारण गरेको कार्यविधि अनुसार करदाताले स्वंय घोषणा गरेको आधारमा बहाल कर निर्धारण गरिने बताएको छ ।


पुष्प दुलाल