म्युचुअल फण्डमा नौलो प्रयोगः एनआइबिएलले ल्याउँदैछ ५० करोडको ‘ओपन इन्ड’ स्कीम



काठमाडौं । एनआइबिएल क्यापिटलले नयाँ स्कीम ल्याउने भएको छ । कम्पनीले ब्रोकरकहाँ नगई कम्पनीमै किन्न पाइने म्युचुअल फण्डको स्कीम ल्याउन लागेको हो ।

कम्पनीले बुधबार ओपन इन्ड म्युचुअल फण्ड निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

‘अन्य म्युचुअल फण्डको निश्चित समयसीमा हुन्छ तर ओपन इन्डको समयसीमा हुँदैन,’ घिमिरेले क्लिकमाण्डूसँग भने, ‘त्यसैले यो लगानीकर्ताका लागि लगानी गर्ने राम्रो प्लेटफर्म बन्न सक्छ ।’

यो स्कीम नेप्सेमा सूचिकृति नहुने र लगानीकर्ताले सीधै कम्पनीमा गएर किन्न सक्ने उनको भनाई छ ।

तर, बोर्डले आवश्यक अध्ययन गरी छलफल गर्न नपाएकाले कम्पनीले फण्ड निष्काशनका लागि कहिले अनुमति पाउँछ भनेर अहिले नै भन्न नसकिने घिमिरेले बताए ।

बोर्डले अनुमति दिएपछि चाँडै नै स्कीम ल्याउने एनआइबिएलका महाप्रबन्धक मेखबहादुर थापाले जानकारी दिए ।

‘हामीले ५० करोड रुपैयाँ बराबरको फण्ड निष्काशनका लागि अनुमति मागेका हौं, बोर्डको अनुमति पाए पहिलो चरणमा तत्कालै २० करोडको निष्काशन गर्नेछौं,’ थापाले क्लिकमाण्डूसँग भने ।

त्यसपछि आवश्यकताअनुसार १/२ अर्ब रुपैयाँको फण्ड जारी गर्ने योजना रहेको थापाले बताए ।

‘अहिले जति पनि म्युचुअल फण्डहरु छन्, उनीहरुको आकार र अबधि फिक्स हुन्छ,’ उनले भने, ‘हामीले ल्याउन लागेको ओपन इन्ड फण्डको आकार पनि फिक्स हुँदैन र अवधि पनि फिक्स हुँदैन ।’

सार्वजानिक निष्काशन गर्दा प्रतिकित्ता १० रुपैयाँमा किन्न पाइने र दोस्रो बजारमा किन्दा फण्डको मूल्य खुद सम्पत्ति मूल्यांकनका आधारमा तोकिने छ ।

‘यसरी उठाएको फण्ड हामी लगानी गर्छौं र त्यहाँबाट भएको कमाईले लगानीकर्तालाई प्रतिफल दिन्छौं,’ थापाले भने, ‘थोरै पैसा हुनेले महिनाको ५/६ हजार रुपैयाँका दरले पनि लगानी गर्न पाउने छन् ।’

ओपन इन्ड फण्ड विकसित देशहरुका लागि सामन्य भए पनि नेपालका लागि यो अबधारणा र प्रयोग नौलो हो । यसअघि एनसिएम मर्चेन्टले यो अबधारणा ल्याए पनि उसले म्यानेज गर्न नसकेका कारण बन्द गरेको थियो ।

के हो ओपन इन्ड म्युचुअल फण्ड ?

‘ओपन इण्ड’ म्युचल फण्ड भन्नाले निष्काशन गर्ने फण्डले जारी गर्ने सेयर कित्ताको संख्यालाई लिएर कुनै पनि प्रतिबन्ध नभएको म्युचल फण्ड भन्ने बुझिन्छ ।

बिदेशमा सामान्यतः अधिकांश म्युचल फण्डहरु ‘ओपन इण्ड’ हुने गर्छन् । यसमा जब फण्ड म्यानेजरले आफ्नो फण्डको कुल सम्पत्ति धेरै भयो भन्ने महसुस गर्छ तब नयाँ लगानीकर्ताका लागि म्युचल फण्डमा लगानी बन्द गर्छ ।


पुष्प दुलाल