नयाँ मौद्रिक नीतिः चुक्ता पुँजी नपुर्याउने बैंकलाई फोर्स मर्जर



काठमाडौं । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा लैजाने भएको छ ।

राष्ट्र बैंकले आज दिउँसो सार्वजानिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी नपुर्याउनेलाई फोर्स मर्जरमा लैजाने नीतिगत व्यवस्था गरेको हो ।

‘तोकिएको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा मा व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकका गभर्नरले भने ।
‘पुँजी नपुर्याउने संस्थालाई ४ किसिमको कारबाही हुन्छ । र, त्यो चार किसिमको काराबारी गर्दा पनि पुँजी पुगने भने झन कठोर कारबाही हुन्छ । त्यो भनेको फोर्स मर्जर हो ।

तोकिएको समयमा तोकिएको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरण, शाखा बिस्तार, नयाँ निक्षेप संकलन र कर्जा प्रवाह गर्न सीमा तोकिने छ।

राष्ट्र बैंकले ०७२ साउन ७ गते सार्वजानिक गरेको मौद्रिक नीतिले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्म बढाउनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले व्यवस्था गरेअनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको ८० करोड र १ देखि ३ जिल्ला कार्यकक्षेत्र भएका वित्त कम्पनीहरुको चुक्ता पुँजी ४० करोड पुर्याउनु पर्ने छ ।

धेरै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकिएअनुसार चुक्ता पुँजी पुर्याए पनि केही संस्थाले भने अझै पुर्याउन सकेका छैनन् ।

पुँजी वृद्धिको प्रक्रियामा रहेका संस्थाहरुलाई आगामी पुस मसान्तसम्मको समयसीमा तोकिएको छ भने प्रक्रियाम पनि नरहेका संस्थाहरुलाई तत्काल कडा कारबाहीको व्यवस्था गरिएको छ ।

केही महिनाभित्र पनि पुँजी नपुर्याए राष्ट्र बैंकले यो संस्था यो सँग मर्ज हुने भनेर निर्देशन नै दिनसक्ने व्यवस्था गरिएको छ ।


पुष्प दुलाल