दूरसंचार प्राधिकरणमा खनालद्धय वरिष्ठ निर्देशकमा सिफारिस, ५ जना निर्देशकमा बढुवा




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले करिब ४ महिनाअघि शुरु गरेको कर्मचारी पदपूर्ति प्रकृया अन्तगरगत विभिन्न पदहरुमा कर्मचारी सिफारिस गरेको छ । प्राधिकरण पदपूर्ति समितिले विभिन्न पदहरुमा कर्मचारीहरुलाई बढुवा सिफारिस गरेको हो ।

प्राधिकरणमा बढुवा हुनेमा वरिष्ठ निर्देशकमा आनन्दराज खनाल र पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ । दुवै जना यसअघि प्राधिकरणमा निर्देशकको रुपमा कार्यरत रहेका थिए ।

दुबैजनालाई समूह नखुलाई पदपूर्ति समितिले बढुवा सिफारिस गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

त्यसैगरी पदपूर्ति समितिले निर्देशक पदमा पनि ५ जनाको बढुवा सिफारिस गरेको छ । निर्देशक पदमा बढुवा सिफारिस हुनेमा प्रशासन समूह तर्फबाट अर्जुन घिमिरे तथा दिपेश आचार्य छन् भने प्राविधिक समूहबाट मिनप्रसाद अर्याल तथा अमर स्थापित रहेका छन् । विविध समूहतर्फबाट सुरेन्द्रलाल हाडालाई सिफारिस गरिएको छ ।

पदपूर्ति समितिले डेपुटी निर्देशकको लागि पनि बढुवामा सिफारिस गर्ने प्रकृयामा रहेको बताईएको छ । डेपुटी निर्देशकमा कुल ६ जना फाईल बढुवाबाट तथा ४ जना आन्तरिक प्रतिस्पर्धाबाट आउनेछन् ।

यसका साथै प्राधिकरणमा कर्मचारीहरु नियुक्तीको लागि आन्तरिक तथा खुला परिक्षा पनि हुन लागेको छ ।

असार २६ गते आन्तरिक प्रतियोगिताको परिक्षा हुँदैछ भने २७ र २८ गते खुला प्रतियोगिताको परिक्षा संचालन हुँदैछ ।

बढुवा सिफारिस गरिएका कर्मचारीहरुको सार्वजनिक सूचना जारी गरिएको ३५ दिनभित्र दाबी बिरोध गर्न सकिने र त्यसपछि स्वतः कार्यान्वयनमा आउने बताईएको छ ।

कर्मचारी बढुवा तथा पदपूर्तिको लागि प्राधिकरणका अध्यक्ष दिगम्बर झाको संयोजकत्वमा लोकसेवा आयोगसहितको पदपूर्ति समितिले कार्य गरिरहेको छ ।


क्लिकमान्डु