उपत्यकाका सडक तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार बनाउन विकास समितिको निर्देशन



फाइल फोटो

काठमाडौं । उपत्यका भित्रका सडकहरुलाई तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार सडकको चौडाई तत्काल विस्तार गर्न व्यवस्थापिका–संसद विकास समितिले सरोकारबाला निकायलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले सडक निर्माण सम्बन्धमा हालसम्म भएको कार्यप्रगति विषयमा छलफल गर्दै सडकहरुलाई तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार सडकको चौडाई तत्काल विस्तार गर्न तथा आगामी दिनमा बिजुलीका तारहरुलाई युटिलिटि टनेल अन्तर्गत अन्डरग्राउन्ड गर्न र सडकहरुलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा राखिसक्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

सडक निर्माण गर्ने सीमित निकायहरुको बिच पनि समन्वयको ठूलो अभाव देखिएको भन्दै समितिले काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, महानगरपालिका आदिले विकास एवं विस्तार गर्ने सडकहरुको अवधारणा तथा मापदण्डमा समेत भिन्नता हुने गरेको उल्लेख गरेको छ । तसर्थ आगामी दिनमा राजमार्गको सडक विकास एव्म विस्तार गर्ने प्रणाली र सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न गराउन समितिले निर्देशन गरेको छ ।

सडक विस्तार कार्यले द्रुत गति नलिनुमा जग्गा प्राप्तीमा समस्या, अधिग्रहण गरिएका जग्गाहरुको तत्काल लगत कट्टा नहुनु, राईट अफ वे क्लियर नहुनु, जग्गा होल्ड गरेर लामो समय राखिनु एवं अधिग्रहण गर्दा कानुन बमोजिम दिइने क्षतिपूर्तिको कार्य सँगसँगै हुन नसक्नु जस्ता कारणहरु पनि जिम्मेवार रहेको समितिको ठहर छ ।


क्लिकमान्डु