मिल्यो भ्याट बिबादः सेयर कारोबार गर्न ब्रोकर सहमत



काठमाडौं । सरकारले सेयर ब्रोकरलाई लगाउने भनिएको मूल्य अभिवृद्धि कर (भ्याट) को बिबाद मिलेको छ । बिबाद मिलेसँगै ब्रोकरहरुले आइतबार सेयर कारोबार खोल्न सहमत भएका छन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सकरात्मक पहलपछि सेयर ब्रोकहरुको भ्याट विबाद मिलेको हो ।

स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीहरुले शुक्रबार साँझ अर्थमन्त्री कार्कीलाई भेटेर आफ्ना समस्याहरु सुनाएका थिए ।

ब्रोकरका समस्या सुनेपछि अर्थमन्त्री कार्कीले अर्थसचिव शिशिर ढुंगानालाई ब्रोकरका समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

अर्थमन्त्रीलाई भेटिसकेपछि ब्रोकरको टोली आन्तरिक राजस्व विभागका अधिकारीहरुसँग अर्थ मन्त्रालयमा छलफलमा बसेका थिए ।

विभागका अधिकारीहरुसँगको छलफलपछि राजस्व सचिव ढुंगाना र ब्रोकरहरु छलफलमा बसे ।

‘कारोबार बन्द गरेर समस्याको समाधान नहुने भएकाले आइतबारदेखि ब्रोकरले यथास्थितिमै कारोबार गर्ने र केहीदिनभित्रै आन्तरिक राजस्व भिागले सरोकारवालाहरुको सहभागितामा विबाद सुल्झाउने’ सहमति भएको छ,’ राजस्व सचिब ढुंगानाले क्लिकमाण्डूँग भने, ‘‘तपाईंले उठाएका इस्यू जायज हुन्, बेरुजु फ्च्र्योट गर्नुपर्ने पनि हाम्रो कर्तव्य हो । तपाईहरु मेकानिजममा आउनै पर्छ, भनेर अनुरोध गरेपछि उहाँहरु कारोबार खुलाउन सहमत हुनुभयो ।’

सचिव ढुंगानाका अनुसार बेरुजु फर्च्र्यौट गर्ने मन्त्रालयको दायित्व भएकाले विभागले भ्याटमा कडाई गरेको बताए । तर, सरकारको निर्णयले ब्रोकरलाई ठूलो समस्या परेको भए सरकारले ती समस्याको सम्बोधन गर्ने बताए ।

‘ब्रोकरहरु पनि कानूनी दायरामा आउनुपर्छ तर उहाँहरु समस्यामा पर्नुभएको छ भने त्यो समस्याको समाधान गर्ने जिम्मा पनि सरकारको हो,’ उनले भने, ‘यो विषयमा आगामी केहीदिन भित्रै सरोकारवालाहरुसँग छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’

स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतीले अर्थमन्त्री र राजस्व सचिवसँगको छलफलपछि ब्रोकरहरु आइतबार कारोबार खोल्न सहमत भएको जानकारी दिए ।

‘छलफल सकरात्मक ढंगले टुंगियो । राजस्व सचिवज्यूले केहीदिन भित्रै समस्या समाधान गरिदिन्छौं भन्नुभएको छ, त्यसैले आइतबारका लागि चाहीँ कारोबार खोल्छौं,’ सिँजापतीले भने, ‘आइतबार दिनभरमा सरकारले समस्या समाधान गर्न प्रयास अघि बढाएन भने फेरि कारोबार गर्न सक्दैनौं ।’

आन्तरिक राजस्व विभागले मूल्य ३ वर्षअघिदेखिको भ्याट तिर्न र भ्याटबिना कारोबार नगर्न ब्रोकरहरुलाई परिपत्र गरेको थियो । एक्कासी भ्याटबिना कारोबार गर्न नपाइने व्यवस्था गरेको भन्दै ब्रोकरहरुले बिहीबार सेयर कारोबार ठप्प पारेका थिए ।


पुष्प दुलाल