चेम्बरले भन्यो- सेयर ब्रोकरको कमिशनमा भ्याट लगाउने निर्णय तत्काल फिर्ता लेउ



काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्शले सेयर बजार बन्दप्रति ध्यानाकर्षण भएको जनाएको छ । सेयर बजार वितीय क्षेत्र अन्तर्गत परिभाषित गरिएकाले यसमा मूल्य अभिवृद्धि कर लगाउन नहुने चेम्बरको धारणा छ ।

‘अन्तर्राष्ट्रिय प्रचलन अनुसार धितोपत्र दलालबाट सम्पन्न हुने सेवाहरु वित्तीय कारोबार अन्तर्गत नै परिभाषित हुने भएको र यसमा मूल्य अभिवृद्धि कर जस्तो करहरु नलाग्ने गरेको उदाहरणहरु हाम्रा अगाडि छन्,’ शुक्रबार विज्ञप्ती जारी गर्दै चेम्बरले भनेको छ ।

धितोपत्र कारोबारलाई नियामक धितोपत्र वोर्ड आफैंले अर्थ मन्त्रालय एवं आन्तरिक राजश्व लगायतका सरोकारवाला निकायहरुलाई गरिएको सुझाव पत्रमासमेत मूल्य अभिवृद्धि कर लगाउन नहुने भनेर जानकारी गराएको र वर्तमान सन्दर्भमा धितोपत्र बजारमा मूल्य अभिवृद्धि कर लगाईदा यसले बजार विस्तारमासमेत नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।

‘सेयर ब्रोकरको कमिशनमा भ्याट लगाउने विषयमा गरिएका सम्पूर्ण निर्णयहरु अविलम्व फिर्ता लिन अर्थ मन्त्रालयलाई अनुरोध गर्दछौं,’ चेम्बरले भनेको छ ।

कारोबार नगरी बजार पूर्णतया बन्द हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने हुनाले बजारलाई तुरुन्त सुचारु गर्न एवं समस्याहरु उपर्युक्त माध्यमबाट समाधान गर्न सबै सरोकारवालाहरुलाई चेम्बरको आग्रह छ ।


पुष्प दुलाल