चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कस्तो कारबाही हुन्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम चुक्ता पुँजी बढाउन तोकेको समय पूरा हुन अब २ हप्ता मात्रै बाँकी छ । धेरै बैंक तथा वित्तीय संस्थाहरुले अहिलेसम्म राष्ट्र बैंकले तोकेजति चुक्ता पुँजी पुर्याउन सकिरहेका छैनन् ।

तोकेको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले कारबाही गर्छ कि गर्दैन ? कारबाही गरिहाल्यो भने कस्तो कारबाही गर्ला ? यतिबेला यो प्रश्न वित्तीय क्षेत्रमा चासो राख्नेहरुका मनमा उब्जिएको छ ।

‘तोकिएको समयमा तोकिएको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरण, शाखा बिस्तार, नयाँ निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोक लगाइने छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘यो कारबाहीले पुगेन भने राष्ट्र बैंकले थप कारबाही पनि गर्छ ।’

कतिपयले राष्ट्र बैंक उदार भएर केही महिना कुनैपनि कारबाही नगर्ने विश्लेषणसमेत गरिरहेका छन् भने कतिपयले कारबाही त गर्ला तर कस्तो कारबाही होला ? भनेर सोधखोज गरिरहेका छन् ।

यस्तो हुन्छ कारबाही

तोकिएको समयमा तोकिएको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् ।

प्रवक्ता पौडेका अनुसार पुँजी नपुर्याउने संस्थालाई ४ किसिमको कारबाही हुन्छ । र, त्यो चार किसिमको काराबारी गर्दा पनि पुँजी पुगने भने झन कठोर कारबाही हुन्छ ।

‘तोकिएको समयमा तोकिएको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरण, शाखा बिस्तार, नयाँ निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोक लगाइने छ,’ चार वित्तीय संस्था गाभेर शुक्रबार एकीकृत कारोबार सुरु गरेको कुमारी बैंकको कार्यक्रममा पौडेलले भने, ‘यो कारबाहीले पुगेन भने राष्ट्र बैंकले थप कारबाही पनि गर्छ ।’

कुन बैंकले कति चुक्ता पुँजी पुर्याउनु पर्छ ?

राष्ट्र बैंकले व्यवस्था गरेअनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको ८० करोड र १ देखि ३ जिल्ला कार्यकक्षेत्र भएका वित्त कम्पनीहरुको चुक्ता पुँजी ४० करोड पुर्‍याउनु पर्ने छ ।


पुष्प दुलाल