गभर्नरले भने- रातारात करोडपति बन्ने मन हुनेले बैंकमा लगानी नगर्नुहोस्



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले रातारात करोडपति बन्ने मन हुनेहरुलाई बैंकमा लगानी नगर्न आग्रह गरेका छन् ।

रातारात मालामाल पैसा कमाउने आशामा बैंकमा लगानी गर्नेहरुकै कारण बैंकिङ क्षेत्रमा विभिन्न समस्याहरु देखा परेको बताउँदै गभर्नर नेपालले यस्ता व्यक्तिहरुलाई बैंकमा लगानी नगर्न सुझाए ।

‘बैंकिङ क्षेत्रमा सीमितमात्र प्रतिफल हुन्छ, कडा नियमनमा बस्नुपर्छ, त्यसैले रातारात करोडपति बन्ने मन हुनेहरु बैंकमा लगानी गर्न नआउनुहोस्,’ मर्जपछि कुमारी बैंकको एकीकृत कारोबारको उदघाटन गर्दै गभर्नर डा. नेपालले भने, ‘मालामाल पैसा कमाउनका लागि बैंक होइन, अरु नै व्यवसाय छन् ।’

मर्जरमा गएरै भएपनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सफल भएकोमा कुमारी बैंक र कुमारीसँग मर्ज हुने ४ वटै संस्थाका लगानीकर्ताहरुलाई गभर्नरले धन्यबाद दिए ।

उनले बिदेशी बैंकका शखा नेपाल आउने भइरहेकाले नेपाली बैंकहरुलाई विदेशीसँग प्रतिस्पर्धा गर्न सकुन् भन्ने उदेश्यले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाइएको बताए ।

‘ठूलो–ठूलो पुँजी भएका विदेशी बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने दिन आउँदैछ, त्यसैले चुक्ता पुँजी बढाइएको हो,’ गभर्नरले भने ।

राष्ट्र बैंकले ०७२ साउन ७ गते मौद्रिक नीति सार्वजानिक गर्दै ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्म बढाउनुपर्ने व्यवस्था गरेको थियो । पुँजी बढाउनुपर्ने व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जरमा गइरहेका छन् ।

कार्यक्रममा गभर्नर डा. नेपालले ७ सय ४४ स्थानीय तहमध्ये करिब ३ सय वटामा मात्रै बैंकहरुको शाखा पुगेकाले बाँकी स्थानीय तहमा शाखा बिस्तार गर्न आग्रह गरे ।

मुलुकमा लामो समयपछि स्थानीय निकायको निर्वाचन भएको र शासन प्रणालीको संरचना पनि फेरिएकाले अब मुलुक आर्थिक सम्मृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।


पुष्प दुलाल