विश्वभर फेरी साइबर आक्रमण, यस्ता छन् सुरक्षित हुने उपाय



काठमाडौं । केहि समय अघि विश्वभर साइबर आक्रमण गरेर समस्यामा पारेको भाइरस र्यानसमवेयरले फेरि एक पटक विश्वभरका कम्प्यूटरमा समस्या उत्पन्न गरेको छ । मंगलबार विश्वका कयौं देशहरुमा नयाँ भाइरसले आक्रमण गरेको छ ।

विशेषगरि नयाँ भाइरसले रुस, युक्रेन र भारतका विभिन्न कम्पनीहरुलाई गंभिर असर पारेको समाचार आएको छ ।

नयाँ भाइरसपनि यसअघिको साइबर आक्रमणमा प्रयोग गरिएको र्यानसम वेयर भाइरससँग सम्बन्धित देखिएको सुरक्षा विज्ञहरुले बताएका छन् ।

अहिलेको साइबर आक्रमणले रुसको सबैभन्दा ठूलो तेल कम्पनी, युक्रेनका बैंक तथा बहुदेशिय फर्महरु तथा भारतको सबैभन्दा ठूलो कन्टेनर पोर्टलाई गंभिर असर पारेको छ । यसले यूरोपका कयौं कम्पनीहरुलाई प्रत्यक्ष असर पारेको अनुमान गरिएको छ ।

भारतमा निभिया स्क्रीन केयर उत्पादक कम्पनी बेर्सडफ, रेकिट बेन्किसर,लगायतका कम्पनीमा पनि सिस्टममा आक्रमण भएको छ भने अष्ट्रेलियामा क्याडबरी चकलेट फ्याक्ट्रिमा पनि असर परेको छ ।

अहिलेको नयाँ भाइरसपनि वानाक्राई र्यानसमवेयर जस्तै गंभीर किसिमको भएको सुरक्षा विज्ञहरुको अनुमान छ ।

कसरी बच्ने साइबर आक्रमणबाट

यो भाइरसले घरमा प्रयोग गरिने कम्प्यूटरमा कम असर गर्दछ । घरमा विण्डोज प्रयोग गर्नेहरुका लागि पनि यो न्यून खतरा हो ।

र्यानसमवेयरले कम्प्यूटरमा भएका फाइलहरुलाई लक गरेर पैसा माग्ने गर्दछ । त्यसैले यदि तपाईँको कम्प्यूटरमा फाइलहरु कुनै छुट्टै ड्राइभ वा मशिनमा ब्याकअप राख्नुपर्दछ । यदि तपाईँले आफ्नो फाइल छुटै ड्राइभमा राख्नुभएन भने त्यो ह्याक हुनेछ ।

इन्टरनेटमा गिफ्ट किन्ने, विभिन्न अफरहरु, अनलाइन गेमिंग लगायतका लिंकहरुको माध्यमबाट ह्याकरहरुले यो भाइरस कम्प्यूटरमा पठाएका हुन्छन। त्यसैले थाहा नभएको र अनधिकृत वेबसाइट हेर्न हुँदैन्। यसका साथै विभिन्न यौन भिडियोहरुको माध्यमबाट पनि आक्रमण हुने गर्दछ ।

कुनै नाम थाहा नभएको वा नचिनेको मान्छेको ईमेल नखोल्नुस्।

आफ्नो ईमेलको पासवर्ड गोप्य राख्नुस र अन्यले पत्ता लगाउन नसक्ने बनाउनुस् ।

ई कमर्श साइटबाट सामान किन्दा निकै सर्तक हुनुहोस् ।

यदि तपाईँको कम्प्यूटरमा पुरानो भर्सनको अपरेटिंग सिस्टम छ भने त्यसलाई तत्काल अपडेट गर्नुहोस् ।


क्लिकमान्डु