लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । लक्ष्मी बैंकले ३८ प्रतिशत बनोस सेयर दिने भएको छ । मंगलबार बसेको बैंकको १६ औं वार्षिक साधारण सभाले ३८ प्रतिशत बनोस सेयर दिने निर्णय पारित गरेको हो ।

लक्ष्मी बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद आचार्यका अनुसार आर्थिक बर्ष २०७२/७३ सम्मको संचित मुनाफाबाट २०७३ असार मसान्तसम्म कायम सेयर पुँजीको ३८ प्रतिशत बनोस सेयर दिने निर्णय पारित भएको जानकारी दिए ।

उक्त बोनस सेयर २०७३ आषाढ मसान्त पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा सतप्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउने आर्चायले जानकारी दिए ।

प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका सेयरधनीहरु, सतप्रतिशत हकप्रद सेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद सेयरको लिलामीबाट कायम सेयरधनीहरु समेत उक्त बोनस सेयर पाउन योग्य हुनेछन् । साथै सभाले बैंकको चुक्ता पुँजीमा संस्थापक सेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आर्थिक बर्ष २०७२/७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३६ करोड रुपैयाँ कर्जा छ । बैंकले १ अर्ब १५ करोड रुपैयाँको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

 


पुष्प दुलाल