विद्यासुन्दरको स्मार्ट सिटीः मेयर कार्यालयमै मोवाइल फोन लाग्दैन



काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनताका एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यको चुनाबी घोषणामध्येको एक आकर्षक नारा थियो,- महानगरलाई स्मार्ट सिटी बनाउने ।

शाक्यले १ सय ८ बुँदे चुनाबी घोषणापत्र नै सार्वजानिक गरेका थिए । शाक्यका आकर्षक घोषणाले महानगरबासीलाई लोभ्यायो । र, भोट दिए ।

परिणामस्वरुप विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयरमा निर्वाचित भए पनि । मेयरकारुपमा शाक्यले महिनादिन भन्दा बढी काम गरिसकेका छन् । यस क्रममा उनले मेयर, उपमेयर र सबै वडाध्यक्षहरुलाई महानगरले मोवाइल किनिदिने निर्णय पनि गरे ।

तर, बिडम्बना स्मार्ट सिटी बनाउने घोषणा गरेर चुनाब जितेका उनै शाक्यको अपिसमा मोवाइल फोनको नेटवर्कसमेत टिप्दैन ।

सुन्धाराको बागदरबारमा रहेको महानगरको कार्यालयभित्र टेलिफोनको टावर नटिप्दा महानगरका कर्मचारी र सेवाग्राही हैरान भएका छन् ।

‘महानगरको कार्यालयभित्र मोवाइल फोनको नेटवर्कको समस्या छ, मोवाइलमा फोन आएपनि आवाज बुझ्नै कठिन हुन्छ, जसले गर्दा हामीलाई काम गर्नसमेत समस्या भइरहेको छ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले क्लिकमाण्डूसँग भने ।

महानगरका कर्मचारीहरुका अनुसार मेयर शाक्य पनि मोवाइलको नेटवर्क नटिपेका कारण आजित भएका छन् । यद्यपि अहिलेसम्म उनले यो समस्या कसरी हटाउने भनेर ठोस निर्णय भने गरेका छैनन् ।


पुष्प दुलाल