संसारका यात्रुलाई सुरक्षा दिने कम्पनी आफै मृत्युवरण गर्दै




एयर ब्याग बनाउने जापानको ‘ताकाता र्कोप’ टाट पल्टेको छ । कम्पनीले आफूलाई अमेरिकी कम्पनी ‘कि सेफ्टी सिस्टम्स’ले १.६ अर्ब डलरमा खरिद गर्न लागेको बताएको छ ।

आफ्ना उत्पादनहरुलाई ठूलो संख्यामा बजारबाट फिर्ता ल्याइरहेको कम्पनीले ‘ब्याङकरप्टसी प्रोटेक्सन’का लागि अमेरिका र जापानमा आवेदन दिएको थियो ।

यो जापानी उत्पादक टाट पल्टेको सबैभन्दा ठूलो घटना हो । कम्पनीको दशक लामो ‘रिकल’ (बजारबाट सामान फिर्ता) र मुद्दा मामिला पश्चात अर्बौं डलरको खर्च र दायित्व रहेको थियो ।

बिश्वभर भएका १७ वटा मृत्युमा (दुर्घटनामा) कम्पनीको एयरब्याग जोडिएको छ ।

ताकाताको कुल दायित्व १५ अर्ब डलर रहेको टोकियो शाको रिर्सच लिमिटेडले अनुमान गरेको छ ।

कम्पनीको गाडी निर्माता ग्राहक कम्पनीहरुको प्रतिस्थापन खर्चका आधारमा कम्पनीको अन्तिम दायित्व तय हुने बताइएको छ ।

कम्पनीले दाखिला गरेको ‘ब्याङकरप्टसी प्रोटेक्सन’ले अमेरिकाको मिचिकनमा आधारित ‘कि सेफ्टि सिस्टम’ (केएसएस) नामक गाडीको पार्टपुर्जा आपूर्तीकर्ता कम्पनीलाई वित्तीय उद्धार गर्ने बाटो खोलिदिएको छ ।

१६ महिना लगाएर गरिएको सम्झौतामा केएसएसले ताकाताको २३ देशमा छरिएका ६० हजार कर्मचारीहरुको स्वामित्व लिने र जापानमा कारखानाहरुको पनि संचालन गर्ने उल्लेख छ । साथै तकाताको संचालन र आपुर्ति श्रृंखलामा कुनै अवरोध नल्याउने पनि उल्लेख गरिएको छ ।

‘अहिलेको खर्च र दायित्व संबोधन गर्न यो नै उपयुक्त कदम हो,’ ताकाताको प्रमुख कार्यकारी सिग्एसिया तागादाले बताए । साथै उनले आफूलगायत उच्च कार्यकारीहरुले राजिनामा दिने पनि बताए ।

केएसएसका अध्यक्ष एवं प्रमुख कार्यकारी जेसन लुले ताकाताको अन्र्तनिहित क्षमता र शक्तिमा कुनै कमी नआएको बताएका छन् । एयर ब्यागको रिकल पश्चात पनि क्षमतावान कर्मचारी, भौगोलिक पहुँच र सिट बेल्ट लगायत अन्य सुरक्षा उपकरणहरुका कारण उनले यसो बताएका हुन् ।

यद्यपि कम्पनीको सबै मुद्दा सल्टिसकेका भने छैनन् । ताकाताको ठूलो ग्राहक होन्डा मोटरले ताकाताको दायित्वको बारे अन्तिम सम्झौता अझै भैनसकेको बताएका छन् ।

ताकातासँग उसका ग्राहकहरु बिएमडब्लु, होन्डा, टोयोटालगायत कम्पनीका अर्बौं डलरका मुद्दा अझै बाँकी छन् । अहिलेसम्म उसका ग्राहक कम्पनीहरुले ‘रिकल’ खर्च बेहोर्दै आएका छन् ।

ग्लोबल यातायात अधिकारीहरुले कम्पनीको १० करोड एयरब्यागलाई रिकल गर्ने निर्देशन दिएको छ । स्रोतका अनुसार यो परिमाणको ‘रिकल’ खर्च १० अर्ब हाराहारी हुन्छ ।

अमोनियम नाइट्रेटको प्रयोगद्धारा बनाइएको एयरब्याग पुरानो भएसँगै र तापको कारण समेत पड्किन थालेको थियो ।

टेक्सटाइल बनाउने कम्पनीको रुपमा स्थापना भएको ताकाताले सन् १९८७ देखि एयरब्याग बनाउन शुरु गरेको थियो । र, कुनै समय बिश्वको दास्रो सुरक्षा उपकरण निर्माता कम्पनीसमेत थियो । कम्पनीले विश्वमा प्रयोग हुने एक तिहाई सिट बेल्टको पनि उत्पादन गर्छ ।

टोकियो स्टक एक्सचेन्जले जुलाई २७ बाट यो कम्पनी डिलिस्ट गर्ने जनाएको छ । रिकल बढेपछि सन् २०१४ मा कम्पनीको सेयर मुल्य ९५ प्रतिशत घटेको थियो । एजेन्सीको सहयोगमा


क्लिकमान्डु