कैलाश बैंकको पोखरा शाखा ठगी काण्डः नाइके अमेरिकामा, गर्भवती महिला जेलमा



काठमाडौं । कैलाश विकास बैंकको पोखरास्थित लामाचौर शाखामा भएको करोडौं अनियमिततामा संलग्न ७ जना बैंककै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले ठगीमा संलग्न भएको अभियोगमा बैंकका कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये २ जना गर्भवती महिला रहेको सीआइबीका इन्स्पेक्टर टिकाराम रेग्मीले क्लिकमाण्डूलाई जानकारी दिए ।

इन्स्पेक्टर रेग्मीका अनुसार लामाचौर शाखाको क्यास काउन्टरमा काम गर्ने रिगु आचार्य, सीमा पन्थ, रबिना थापा र सो शाखाका सञ्चालन प्रमुख शिबराज अधिकारीलाई प्रहरीले गत जेठ २९ गते पक्राउ गरेको हो ।

त्यसैगरी, पोखरा न्यूरोड शाखाको क्यास काउन्टरमा काम गर्ने दीपिका कोइराला, शुष्मा शर्मा र सो शाखाकी प्रमुख मञ्जु कँडेललाई जेठ २७ गते प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये रिगु आचार्य ८ महिनाकी र दीपिका कोइराला ३ महिनाकी गर्भवती रहेको इन्स्पेक्टर रेग्मीले जानकारी दिए ।

लामाचौर शाखाका शाखा प्रबन्धक रविचन्द्र खनाल करोडौं रुपैयाँ ठगी गरेर गत बैशाख १ गतेदेखि फरार छन् ।

खनाल अमेरिका पुगिसकेको प्रहरीले जनाएको छ । खनालको नेतृत्वमा २ करोड ८१ लाख ७० हजार रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले रविचन्द्रकी श्रीमति लक्ष्मी देवकोटा खनाललाई सोधपुछका लागि बोलाएको थियो । प्रहरीका अनुसार खनालपत्नी लक्ष्मी लामाचौर शाखा ठगी प्रकरणमा निर्दोष देखिएकी छन् ।

‘आफ्नो नाममा खोलिएको बैंक खाता पनि पति रविचन्द्रलाई नै चलाउने अख्तियारी दिएको र सो खातामा कारोबार भएपनि लक्ष्मी निर्दोष देखिएकी छिन्,’ इस्न्पेक्टर रेग्मीले भने ।

खनालपत्नी लक्ष्मीले आफ्ना श्रीमान रविचन्द्रले अमेरिकाबाट ३ पटक फोन गरेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले बैंकिङ कसूर ऐन २०७३ अन्तगर्त मुद्दा दायर गरेको छ । आगामी हप्ता म्याथ पथका लागि अदालतमा पेश गर्ने रेग्मीले बताए ।

अनुसन्धानको काम सकेर काठमाडौंबाट गएको सीआइबीको टोली ३/४ दिनअघि नै फर्किसकेको छ । अभियुक्तहरुलाई पोखरा प्रहरी कार्यालयले थुनामा राखेर मुद्दा दायर गरेको छ ।

रविचन्द्रले सर्वसाधारण र सहकारी संस्थाहरुकोसमेत गरी करिब १० करोड रुपैयाँ बराबरको ठगी गरेको भन्दै दर्जनौ उजुरीहरु पोखराको प्रहरी कार्यालयमा परेको छ ।

ठगी गरेर गत बैशाख ३ गते नै अमेरिका गएका खनाललाई बैंकले जेठ २४ गते बर्खास्त गरेको थियो । बैंकले ग्राहकको खाता अपचलन गरी ठूलो रकम अनियमितता गरेको भन्दै बैंकले कर्मचारी सेवा बिनियमावली-२०७० को बुँदा नं- ८३ बमोजिम बैंकले जेठ २४ गतेदेखि लागू हुनेगरी भविष्यमा पनि बैंकको कर्मचारी बन्न अयोग्य हुनेगरी बर्खास्त गरेको हो ।

प्रहरीका अनुसन्धानका क्रममा चैत १५ गते नै साटिएको नम्बरको चेक चैत २४ गते रविचन्द्र खनालको निर्देशन र पक्राउ परेका कर्मचारीहरुको मिलेमतोमा साटिएको तथ्य फेला पारेको थियो ।


पुष्प दुलाल