रेमिट्यान्समा निर्भर हुने देशहरुको सूचीमा नेपाल विश्वमै पहिलो



काठमाडौं । नेपाल रेमिट्यान्सले चलेको देश हो भन्ने भनाईलाई एक प्रतिवेदनले पुष्टि गरेको छ । हालै मात्र संयुक्त राष्ट्रसंघले सार्वजानिक गरेको एक प्रतिबेदनमा नेपाल रेमिट्यान्समा भर पर्ने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा देखिएको छ ।

संयुक्त राष्ट्रसंघको कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) ले सार्वजानिक गरेको रिपोर्ट अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा करिब ३२ प्रतिशत भएको उल्लेख छ ।

रेमिट्यान्सका कारण विदेशमा काम गर्न गएका कामदारको परिवारको भविश्य  राम्रो हुने देखिएको रिपोर्टमा उल्लेख छ ।

नेपालमा वाषिर्क ६ खर्ब रुपैयाँभन्दा बढी रकम रेमिट्यान्समार्फत् भित्रने गरेको छ । नेपालद राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिमा आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा ५ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान स्वदेश भित्रिएको छ । चालू आर्थिक वर्षमा नेपालको जीडीपी २५ खर्ब रुपैयाँको छ ।

बैदेशिक रोजगार विभागका अनुसार नेपालबाट दैनिक औषतमा १५ युवाहरु रोजगारीका लागि बिदेशिने गरेका छन् ।

राष्ट्र संघको प्रतिवेदन अनुसार रेमिटयन्समा बढी निर्भर हुने देशहरुको सूचीमा लिबेरीया दोस्रो स्थानमा परेको छ । लिबेरीयाको जीडीपीमा रेमिट्यान्सको हिस्सा ३१ प्रतिशत छ ।

त्यसैगरी, ताजिकिस्तान रेमिट्यान्समा बढी निर्भर हुने तेस्रो देशमा परेको छ । ताजिकिस्तानको जीडीपीमा २९ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगट्छ ।

त्यस्तै, किर्गिस्तानको जीडीपीको २६ र हाइटिको जीडीपीको २५ प्रतिशत रेमिट्यान्सले ओगट्छ ।

आइएफएडीका अनुसार २०१६मा विश्वभरबाट रेमिट्यान्सको रुपमा स्वदेशमा पठाइएको रकम कुल ४ सय ४५ ट्रिलियन अमेरिकी डलर अर्थात् ४५ सय अर्ब रुपैयाँ रहेको छ ।

पछिल्ला दश बर्षमा रेमिट्यान्स ५१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

संसारभर अहिले २ सय मिलियन अर्थात् २० करोड कामदारहरु रोजरागको शिलशीलाम विदेशमा काम गरिरहेका छन् । यसरी विदेशमा काम गर्ने कामदारहरुले ८ सय अर्थात् ८० करोड परिवार रेमिट्यान्समा आश्रित छन् ।

चीनलाई उछिन्दै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने भारत

सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने राष्ट्रमा भारत पहिलो स्थानमा छ ।

भारतले सन् २०१६ मा ६३ अर्ब अमेरीकी डलर बराबरको रकम रेमिट्यान्स भित्र्याएको थियो । भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश भएपनि भारतको जीडीपमा रेमिट्यान्सको हिस्सा ३ प्रतिशत मात्रै छ ।

सन् २०१६ मा रेमिट्यान्स बढी भित्र्याउने देशहरुको सूचीमा चीन दोस्रो स्थानमा पर्छ । चीनले गत वर्ष ६१ अर्ब अमेरीकी डलर रेमिट्यान्स भित्र्याएको थियो ।

केही वर्ष अघिसम्म चीन विश्वमै सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने राष्ट्रमा पथ्र्यो ।

रेमिट्यान्स भित्र्याउनेमा देशहरुको तेस्रो सूचीमा फिलिफिन्स पर्छ । फिलिफिन्सले सन् २०१६ मा २९.९ अर्ब अमेरीकी डलर भित्र्याएको छ ।

२८.५ अर्ब डलर रेमिट्यान्स भित्र्याउँदै मेक्सिको चौथो र १९.८ अर्ब डलर रेमिट्यान्स भित्र्याउँदै पाकिस्तान पाँचौ स्थानमा परेका छन् ।

रेमिट्यान्सका कारण विदेशमा काम गर्न गएका कामदारको परिवारको भविश्य  राम्रो हुने देखिएको रिपोर्टमा उल्लेख छ ।


पुष्प दुलाल