के अब फर्किएला त एभरेष्ट इन्स्योरेन्सको गुमेको शाख ?



काठमाडौं । आर्थिक वर्ष २०६७/६८ सम्मको कारोबारको आधारमा निर्जीवन बीमा कम्पनीमा एभरेष्ट इन्स्योरेन्स एक नम्बरको कम्पनी थियो ।

कम्पनीमा अध्यक्ष राजेन्द्र खेतान थिए भने केबलकृष्ण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतमा थिए । बीमा कम्पनीहरुको संस्था नेपाल बीमक संघका अध्यक्ष रहेका श्रेष्ठ सिइओ र उदयमान व्यवसायी खेतान अध्यक्ष भएको कम्पनीको व्यवसाय हरेक वर्ष बढ्दो क्रममा थियो ।

त्यो बेलासम्म आफू प्रवद्र्धक तथा संचालक भएको बीमा कम्पनीले सो व्यक्ति अन्य कम्पनीको बीमा गराउन सक्ने व्यवस्था थियो ।

उद्योगी राजेन्द्र खेतानको मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी हिमालयन स्नाक्समा भएको आगलागीको बीमा भुक्तानी सर्वेयरको रिपोर्ट नआउँदै दिएको भन्दै बीमा समितिले कारवाही गर्यो ।

४ करोड रुपैयाँको भुक्तानीबाट सुरु लफडाले कम्पनीको संचालकबाट राजेन्द्र खेतान बाहिरिए । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र लेखापरीक्षकलाई पनि प्रहरीले प्रक्राउ गर्यो ।

पहिलो संविधानसभामा मनोनित हुने २६ जनाबाट संविधानसभा पुगेका उद्यमी खेतान यो प्रकरण पछि निस्कृय बने । हरेकजसो सार्वजनिक कार्यक्रमा देखिने र चर्चामा आउने उद्योगी खेतान त्यसपछि सार्वजनिक समारोहमा देखिन छाडे ।

इएपिएस २० रुपैयाँ भएको आधारले कम्पनीको अवस्था राम्रो भएपनि एभरेष्ट मुल्य आम्दानी अनुपात (पिइ रेसियो) ७५ रुपैयाँ ७७ पैसा छ । पिइ रेसियो बढी भएको हुँदा एभरेष्टको अहिले बढेको सेयर मुल्यलाई ‘जस्टिफाइ’ भने गर्दैन । यद्यपि सेयर बजारमा यस्ता सुचकलाई गौण मानिदै आइएको देखिन्छ ।

त्यसबेला बीमा समितिमा कार्यकारी निर्देशकको रुपमा विनोद अर्याल थिए । विनोद र केवलको व्यक्तिगत झगडाले एभरेष्टलाई धक्का लागेको पनि चर्चा थियो ।

नक्कली कागजपत्र पेश गरेर बीमा समितिमा कार्यकारी निर्देशक भएका अर्याल बीमा समितिबाट बर्खास्त भएपनि त्यसपछिका चारवर्ष बीमा समिति र एभरेष्टबीचको सम्बन्ध सहज हुन सकेन । बीमा समितिले एभरेष्टमाथि अग्नी बीमाको कारोबारमा रोक लगायो भने एभरेष्ट इन्स्योरेन्सको लाइसेन्स पनि नविकरण हुन सकेन ।

एभरेष्टको ब्यवस्थापन बीमा समितिले हस्तक्षेप गरेर आफैले लियो । यो सबै घटनापछि निर्जीवन बीमा कम्पनीमा सबैभन्दा अगाडि रहेको एभरेष्ट अहिले सबैभन्दा कम व्यवसाय गर्ने कम्पनीमा पर्छ ।

बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने २५ करोड रुपैयाँ पुँजी पुर्याउन एभरेष्ट असफल भएको थियो । बीमा समितिले एभरेष्ट इन्स्सोरेन्स समाल्नको लागि पठाएको व्यवस्थापन टोली गएपछि संचालकले कल इन एडभान्स वापत ७ करोड रुपैयाँ राखेसँगै कम्पनीमा लागेको कारवाही फुकुवा भएको थियो ।

के होला हकप्रदपछि कम्पनीको भविष्य ?

एभरेष्ट इन्स्सोरेन्सले एकै पटक २० प्रतिशत बोनस सेयर र त्यसपछि ६ सय प्रतिशत हकप्रद दिने भएपछि यसको सेयर मुल्य उचालिएको छ । आइतबार मात्र एभरेष्ट इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता २ सय ६४ रुपैयाँले बढेर प्रतिकित्ता २९ सय ९ रुपैयाँ पुगेको छ ।

एभरेष्टको सेयर मूल्य यसअघि नै बढी भएको सेयर विश्लेषकहरु बताउँछन् । बजारमा सेयर आपूर्ति कम हुदाँ माग बढी भएर एभरेष्टको सेयर मुल्य प्रतिकित्ता २९ सय पुगेको ती विश्लेषकको भनाइ छ ।

‘६ सय प्रतिशत हकप्रद दिने भनिएपछि धेरै लगानीकर्ता आकर्षित भएका छन्, यसअघि पनि ५ सय प्रतिशत हकप्रद दिने भनिएको थियो र त्यो बेला पनि सेयर मुल्य बढेको थियो, सो अनुसारको हकप्रद नआएपछि कम्पनीको सेयर मुल्य घट्यो, तर अहिले भएको बजार मूल्य सो कम्पनीको हुनुपर्ने मूल्यभन्दा निकै बढी हो जस्तो मलाई लाग्छ,’ ती विश्लेषकले भने ।

कम्पनीले आगामी असार २३ गते साधारणसभा गर्नको लागि असार ९ गतेदेखि बुकक्लोज गरेको छ । यसले एभरेष्टको सेयर मुल्य अझै बढ्ने देखिन्छ । बोनस र हकप्रद पछि यसको सेयर मूल्य बढीमा साढे ५ सय रुपैयाँमा समायोजन हुने देखिन्छ ।
चैत मसान्तसम्मको वित्तीय विवरणको आधारमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २० रुपैयाँ ४६ पैसा छ ।

इएपिएस २० रुपैयाँ भएको आधारले कम्पनीको अवस्था राम्रो भएपनि एभरेष्ट मुल्य आम्दानी अनुपात (पिइ रेसियो) ७५ रुपैयाँ ७७ पैसा छ । पिइ रेसियो बढी भएको हुँदा एभरेष्टको अहिले बढेको सेयर मुल्यलाई ‘जस्टिफाइ’ भने गर्दैन । यद्यपि सेयर बजारमा यस्ता सुचकलाई गौण मानिदै आइएको देखिन्छ ।

६ सय प्रतिशतको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८५ करोड रुपैयाँको हाराहारीमा पुग्छ । जुन बीमा समितिले तोकेभन्दा १५ करोड रुपैयाँले कमी हो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दा पुरानो शाख फर्काएर व्यापार फर्काउनु प्रमुख चुनौती रहेको बताएको थियो ।

कुनैबेला निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी हिस्सा ओगट्ने एभरेष्ट अहिले सबैभन्दा कम हिस्सा ओगटने कम्पनीमा पर्छ ।

गत चैत मसान्तसम्मको तथ्यांक अनुसार एभरेष्टले ५ हजार २ सय १० ओटा बीमालेख जारी गरेको थियो । बीमालेख जारी भएको संख्याको आधारमा एभरेष्टको बजार हिस्सा १.१४ प्रतिशत मात्र हो ।

यस्तै, चैतसम्म कुल बीमा शुल्क ७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीले संकलन गरेको बीमा शुल्कको आधारमा यसको बजार हिस्सा १.५२ प्रतिशत हो । जुन अहिले संचालनमा भएका निर्जीवन बीमा कम्पनीमा सबैभन्दा कम हो । कम्पनीले चैत मसान्तसम्ममा २ करोड रुपैयाँ खुद नाफा गरेको छ ।


पुष्प दुलाल