५ अंकले बढ्यो नेप्से, ६७ करोडको कारोबार



काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से ५.१ अंकले बढेर १५८९.५९ अंक पुगेको छ । बिहिबार १५१ कम्पनीको ११ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ६७ करोड ३८ लाख रुपैंयाँको कारोबार भएको छ ।

नेप्सेले बिगत एक डेढ महिनादेखि कुनै गति लिन सकेको छैन । १६ सय अंक हाराहारीमा घुमिरहेको नेप्सेको निकट भबिष्यको दिशा आंकलन गर्न पनि कठिन नै छ । बैंकहरुमा ब्याजदर घटेको छैन । र, निकट भबिष्यमा घट्ने छाँटकाँट पनि छैन ।

नेप्सेलाई प्रभाव पार्ने अन्य धेरै कारण भए पनि ब्याजदर नै प्रमुख कारण हो । थोरै ब्याजदरमा पैसा लिएर सेयर बजारमा लगानी गर्ने अवसर आए मात्र ठूला लगानीकर्ता आकर्षित हुने हुन । होइन भने साना लगानीकर्ताले केही सय वा हजार कित्ता सेयर किनबेच गरेर नेप्सेको गति र दिशा बदल्न गाहे हुन्छ ।

बिहिबार ‘अन्य’ उपसूचक २.८९ अंकले घटेको छ भने अरु सबै बढेका छन् । बैंकिङ ५.५७ र बीमा ११.३४ अंकले बढेका छन् ।

३३.३३ प्रतिशत हकप्रद बिक्री गर्दै गरेको एभरेष्ट बैंकको बिहिबार पनि सबैभन्दा बढी ६ करोड २१ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा स्ट्यान्डर्ड चार्टड बैंकको ५ करोड १५ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी एभरेष्ट इन्स्योरेन्सको ३ करोड १० लाख र जनता बैंकको २ करोड ५ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार सबैभन्दा बढी सेन्ट्रल फाइनान्स र नेशनल माइक्रोफाइनान्सका लागानीकर्ताले क्रमशः ९.७१ र ८.०१ प्रतिशतले कमाएका छन् । यसैगरी ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.२५ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल